
काठमाडौं, २८ साउन । सुर्खेतमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले निजी तथा सरकारी सम्पत्तिमाथि आक्रमण गर्नुका साथै सरकारी कार्यालयहरूमा आक्रमण हुन थालेपछि शान्तिसुरक्षा कायम गर्ने सुरक्षा निकायले गोली चलाएको जनाएको छ । त्यस क्रममा गोली लागेर दुई जनाको मृत्यु भएको सदनलाई जानकारी दिइएको छ ।
रुलिङअनुसार संसदको आजको बैठकमा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले सुर्खेतमा हज्जारौँको संख्यामा आएका प्रदर्शनकारीको प्रदर्शन अनियन्त्रित हुन थालेपछि शान्तिसरक्षा बनाउन सुरक्षाकर्मीले बल प्रयोग गरेको बताउनुभयो । उहाँले सुरक्षाकर्मीको गोली लागेर वीरेन्द्रनर नगरपालिका निवासीद्वय टीकाराम गौतम र ज्ञानबहादुर वि.क.को मृत्यु भएको संसदलाई जानकारी दिनुभयो ।
व्यवस्थापिका संसदको बुधबारको बैठकमा सांसदहरूले सुर्खेतसहित मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा चर्किएको आन्दोलनका विषयमा जानकारी माग गरेका थिए । सोही मागअनुसार सभामुखले जानकारी गराउन रुलिङ गरेपछि गृहमन्त्री गौतमले सदनलाई जानकारी गराउनु भएको हो ।
‘हज्जारौँको संख्यामा जम्मा भएका प्रदर्शनकारीले कांग्रेस सांसदद्वय पूर्णबहादुर खड्का र हृदयराम थामीको निवासमा आक्रमण गरे । कम्पाउन्डभित्र रहेका सवारी साधनहरूको तोडफोड भयो । सरकारी गाडी र कार्यालयहरूमा तोडफोड भयो । कांग्रेस र एमालेको पार्टी कार्यालयमा आक्रमण भयो’, गृहमन्त्री गौतमले भन्नुभयो, ‘प्रदर्शनकारीको भीड अनियन्त्रित भएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्न हवाइ फायर र गोली चलाएको हो ।’
गृहमन्त्री गौतमले सुरक्षाकर्मीको गोली लागेर नौ जना प्रदर्शनकारी घाइते भएको बताउनुभयो । उहाँले प्रदर्शनकारीको आक्रमणबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि घाइते भएको बताउनुभयो ।
प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पटक पटक संयम हुन गरेको आग्रह नमानेको गौतमको भनाइ छ ।
त्यसै गरी जुम्लामा पनि कर्णाली स्वायत्त प्रदेशको मागसहित जुम्ला क्याम्पसमा प्रदर्शनकारी प्रवेश गरेर आक्रमण थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको बताउनुभयो । प्रदर्शनकारीले क्याम्पसभित्र चलिरहेको परीक्षामा परीक्षार्थीको प्रश्नपत्र च्यातेपछि बाध्य भइ बल प्रयोग गरेको गृहमन्त्रीको भनाइ थियो ।
त्यस क्रममा पाँच सुरक्षाकर्मी घाइते भएको उहाँले बताउनुभयो । जुम्लामा पनि प्रदर्शनकारीले कांग्रेस, एमाले, एमाओवादीको कार्यालयमा तोडफोड गर्नुका साथै तीन शीर्ष नेताको पुत्ला जलाएको गृहमन्त्री गौतमले बताउनुभयो ।
यसैबीच, जुम्लामा अखण्ड मध्यपश्चिमको मागसहित कर्मचारीले नारा लगाएको गौतमले बताउनुभयो । त्यस क्रममा सरकारी कर्मचारीहरूले जागिर गए पनि जाओस् मध्यपश्चिम अखण्ड रहनुपर्छ भनेको उहाँको भनाइ थियो ।
सरकारका तर्फबाट गौमले रुकुम, सल्यानका साथै नवलपरासी, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्ला आन्दोलन चलिरहेको बताउनुभयो । उहाँले थारुहटको माग गर्दै थारु समुदायले गरेको बन्द र हड्तालले सर्वसाधारणलाई समस्या भएको बताउनुभयो ।
गृहमन्त्री गौतमले सुनसरी, बारा, पाल्पा, बाँकेलगायतका जिल्लाहरूमा हिन्दूधर्मको मागसहित आन्दोलन भएको पनि सदनलाई जानकारी दिनुभयो । उहाँले दलित संयुक्त संघर्ष समितिले पनि विभिन्न आन्दोलनका कार्यक्रम गरेको बताउनुभयो ।












प्रतिक्रिया