२८ आश्विन २०८३, बुधबार

दाङका वनमा लागेको डढेलो नियन्त्रण हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aago

तुलसीपुर । दाङका विभिन्न ठाउँमा रहेका राष्ट्रिय तथा सामुदायिक वनमा धेरै दिनदेखि लागेको डढेलो अझै नियन्त्रण हुन सकेका छैन ।

डढेलो नियन्त्रण हुन नसक्दा धेरै जङ्गल विनाश हुनुका साथै बहुमूल्य जडीबुटी, एवम् पक्षहरु पनि जलेर नष्ट भएका छन् । यतिखेर विशेष गरेर जिल्लाको फूलबारी गोल्टाकुरी, सतबरिया लगायतका गाविसमा रहेका राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लागेर ठूलो क्षति पुगेको छ । दुई हप्तादेखि फूलबारी गाविसको विभिन्न ठाउँमा लागेको डढेलो नियन्त्रण गर्न न त सम्बन्धित निकायले चासो देखाएको छ, न त सामुदायिक वनका पदाधिकारीले भन्दै स्थानीयवासीले चिन्तासमेत व्यक्त गरेका छन् ।

फूलबारी–३ ढकना का रेश्मी भट्टराई भन्नुहुन्छ–“आफूले दुई हप्ताअघि देखि नै यहाँका वनमा आगो लागेको देखेको छु तर अहिलेसम्म यसलाई नियन्त्रण गर्न कसैले नै चासो दिएको छैन । गाउँनजिकै जङ्गल यसरी विनाश हुँदा सम्बन्धित निकाय मौन हुन्छ भने अन्य विकट ठाउँको जङ्गलको हालत कस्तो होला ।”

यता जिल्ला वन कार्यालय दाङले भने यतिखेर जिल्लाका धेरै वनमा डढेलो समस्या रहेको र दिनभरि चल्ने हावाहुरी तथा बतासका कारण पनि नियन्त्रण गर्न कठिनाइ हुने गरेको भन्दै नियन्त्रण गर्न विभिन्न प्रयास जारी रहेको बताएको छ । यसपटक मात्र जिल्लाका विभिन्न ठाउँमा गरी झन्डै ६०० हेक्टर जङ्गल डढेलोका कारण नष्ट भइसकेको छ भने एकजना उपभोक्ताको डढेलो नियन्त्रण गर्ने क्रममा जलेर मृत्यु भएको कार्यालयले जनाएको छ ।