काठमाडौं, २८ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा राज्यपक्षसँग भएका सहमतिका आधारमा नयाँ संविधानमा मधेश केन्द्रित दलका माग सम्बोधन हुनुपर्ने बताउनुभएको छ ।
आन्दोलनकै क्रममा कैलाली जिल्लामा रहनु भएका अध्यक्ष महतोले आज बिहान दैनिक नेपालसँग कुरागर्दै संघीयताको विषयमा पूर्व सहमतिअनुसार हुनुपर्ने बताउनुभयो ।
‘संघीयताको हाम्रो माग तराईमा दुई प्रदेश हो’, उहाँले भन्नु भयो, ‘विगतमा पनि सरकारसँग तराईमा दुई प्रदेश बनाउने सहमति भएको थियो । त्यसलाई आधार बनाएर सिमाङ्कन हुनुपर्छ ।’
तपाईहरूले भनेजस्तै सप्तरीदेखि पर्सासम्मको तराईको भूभागसहित प्रदेश त पाउनु भएको छ नी ? भन्ने जिज्ञासामा अध्यक्ष महतोले भन्नुभयो, ‘यसरी सिमाङ्कन गरेर कहाँ हुन्छ ? झापादेखि कञ्चनपुरसम्म तराईको भूभाग हो । यसैलाई मिलाएर कमसेकम दुई प्रदेश बनाउनुपर्छ नी ।’
नयाँ संविधानको मस्यौदासँग कोही पनि सन्तुष्ट नरहेको बताउनुभएका उहाँले भन्नुभयो, ‘पहिला भएका सहमति कार्यान्वयन नहुँदासम्म कोसँग वार्ता के को वार्ता ? माग पुरा गर्ने हो भने वार्ताको आवश्यक्ता नै पर्दैन ।’
उहाँले प्रमुख चार दलले प्रतिगामी संविधानको मस्यौदा बनाएको बताउनुभयो । ‘यो प्रतिगामी संविधानको मस्यौदालाई मान्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘जनताको मागलाई धेरैभन्दा धेरै सम्बोधन होस् भन्ने हाम्रो चाहना हो ।’












प्रतिक्रिया