रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डको छेउमा एक पुरुषको शव रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुन्ना पासवानको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको निरीक्षण गर्दा अन्दाजी ४० देखि ४५ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको थियो भने टाउकोमा चोट समेत देखिएको छ।
घटनाको प्रकृति बुझ्न तथा आवश्यक प्रमाण सङ्कलनका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा एसओसीओ (क्राइम सिन म्यानेजमेन्ट) टोली समेत घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले मृतकको पहिचान खुल्न नसकेको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीले मृतकको सनाखत तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।







प्रतिक्रिया