काठमाडौं । कतार तथा खाडी मुलुकहरूको राजनीतिक, आर्थिक, कूटनीतिक र सामाजिक विकासका विषयमा लामो समयदेखि अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आएका प्रा. मोहम्मद रमजान अली मियाँद्वारा लिखित पुस्तक ‘Beyond Oil: Economic Miracles of The Gulf’ (तेलभन्दा पर : खाडी क्षेत्रका आर्थिक चमत्कारहरू) आगामी २४ गते आइतबार सार्वजनिक हुने भएको छ।
उक्त पुस्तकमा कतारसहित खाडी सहयोग परिषद् (GCC) अन्तर्गतका देशहरूले तेल र ग्यासमा आधारित अर्थतन्त्रबाट विविधीकरणतर्फ अघि बढ्दै हासिल गरेका आर्थिक उपलब्धि, विकास रणनीति, अन्तर्राष्ट्रिय कूटनीति, मानव विकास, पूर्वाधार विस्तार तथा भविष्यका सम्भावनाहरूको विश्लेषण प्रस्तुत गरिएको बताइएको छ।
लेखक प्रा. मियाँले कतारको राष्ट्रिय मानवअधिकार समितिसँग आबद्ध रहँदै मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध तथा खाडी क्षेत्रसम्बन्धी विषयमा सक्रिय अध्ययन-अनुसन्धान गर्दै आएका छन्। उनले विभिन्न भाषामा दर्जनौं पुस्तक तथा अनुसन्धानमूलक कृतिहरू प्रकाशन गरिसकेका छन्।
पुस्तकले खाडी मुलुकहरूको तीव्र आर्थिक रूपान्तरण, आधुनिक पूर्वाधार विकास, लगानीमैत्री वातावरण, शिक्षा तथा प्रविधिमा गरिएको लगानी र विश्व अर्थतन्त्रमा उनीहरूको बढ्दो प्रभावलाई समेटेको छ। विशेषगरी कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन तथा ओमानको विकास यात्राबारे पुस्तकमा विस्तृत चर्चा गरिएको जनाइएको छ।
खाडी क्षेत्रका समसामयिक राजनीतिक, आर्थिक तथा कूटनीतिक विषयमा रुचि राख्ने पाठक, विद्यार्थी, अनुसन्धानकर्ता तथा नीतिनिर्माताका लागि पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया