काठमाडौं, २७ साउन । एमालेका अध्यक्ष केपी ओलीले ६ प्रदेशसहितको संघीय राज्य र सीमाङ्कन उपयुक्त रहेको भन्दै बचाउ गर्नुभएको छ ।
संविधानसभा भवनमा आज एमालेका मध्य तथा पूर्वी जिल्लाका सभासदहरूसँगको बैठकका क्रममा अध्यक्ष ओलीले संविधानको मस्यौदा सहमतिको दस्तावेज भएकाले त्यसलाई ग्रहण गर्नुपर्ने बताउनुभयो । ‘छ प्रदेशसहितको संघीय राज्य अहिलेको अवस्थामा जायज छ’, उहाँले भन्नुभयो, ‘एमाले मात्रै छैन । यो सहमतिको दस्तावेज हो । यसलाई सोही रुपमा लिनुपर्छ ।’
उहाँले संविधानका विषयमा उठेका जायज मुद्दा सम्वोधन गर्न एमाले तयार रहेको बताउनुभयो । परिमार्जित मस्यौदा सहमतिको दस्तावेज भए पनि तर्कपूर्ण र औचित्यपूर्ण माग समेट्न प्रयास गरिने ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले आवेश र उत्तेजनामा अहिले भइरहेका आन्दोलन ठीक नभएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘प्रदेशलाई लिएर जसरी आगो बाल्न खोजिएको छ, त्यसका लागि एमाले शान्तिपूर्ण दमकल बन्न तयार छ । बन्नु पर्छ । आगो लगाएर चर्काउन खोजेको ठाउँमा लेप लगाउनुर्पछ ।’
क्षेत्रीय र जातीय रुपमा नभइ दलहरूले विकास र न्यायका लागि ६ प्रदेशको खाका तयार पारिएको ओलीको भनाइ थियो । मस्यौदामा परिमार्जन गर्न सकिने भए पनि सबैको माग सम्वोधन हुँनै नसक्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया