२१ कार्तिक २०८३, शनिबार

संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICCकाठमाडौं, २७ साउन । दुई दिनको छलफलपछि संविधानसभाले राजनीतिक सहमति तथा सम्वाद समितिको प्रतिवेदनलाई बहुमतले पारित गरी संविधानसभा मस्यौदा समितिमा पठाउने निर्णय गरेको छ ।

जनताको सुझाव समेटेर राजनीतिक समितिले संविधानको मस्यौदा तयार पारी संविधानसभामा पेश गरेको थियो ।

सो प्रतिवेदनमाथि हिजो र आज दुई दिनसम्म संविधानसभामा छलफल भएको हो ।

छलफलपछि राजनीतिक समितिका सभापति बाबुराम भट्टराईले जवाफ दिनुभएको थियो ।

भट्टराईको जवाफपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदालाई निर्णयार्थ प्रस्तुत गर्नुभयो ।

मस्यौदाको प्रस्तावमा निर्णयार्थ पेश गर्दा विपक्षमा नेमकिपाका जम्मा तीन मत मात्रै परेका थिए ।

संविधानको मस्यौदालाई मस्यौदा समितिमा पठाउने पक्षमा कांग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिकसहितका दलहरूले मतदान गरेका थिए ।

आजको बैठकलाई मधेश केन्द्रित र राप्रपा नेपालसहितका केही दलहरूले भने बहिष्कार गरेका छन् ।

यसैबीच, संविधानसभाले सुझावसहितको संविधानको प्रतिवेदनलाई अन्तिम विधेयकको रुप दिन मस्यौदा समितिलाई पाँच दिनको समय दिएको छ ।

मस्यौदा समितिले नयाँ संविधानको अन्तिम विधेयक अब संविधानसभामा पेश गर्नुपर्ने छ ।

प्रतिवेदनलाई मस्यौदा समितिमा पठाउने निर्णयसँगै संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठकका लागि पछि सूचना गरिनेछ ।