२८ आश्विन २०८३, बुधबार

प्राधिकरणका ३३ हजार ग्राहक कालोसूचीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neaकाठमाडौं, २४ चैत । बिजुलीको बिल भुक्तानी नगर्ने विद्युत् प्राधिकरणका ३३ हजार ६ सय ६० ग्राहक कालोसूचीमा परेका छन् । उनीहरूबाट करिब ६४ करोड ८२ लाख २५ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।

विद्युत् महसुल नतिर्ने गत असार मसान्तसम्मको उद्योग कलकारखाना र घरायसी उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेर असुली अगाडि बढाउने तयारी थालेको छ । महसुल नतिर्ने करिब २०४५ देखिका ग्राहक छन् । ‘कालोसूचीमा परेका ग्राहकबाट अभियानकै रूपमा बक्यौता उठाउन सुरु गर्छौं,’ प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले भने, ‘पैसा तिर्न आनाकानी गरे सरकारी बक्यौतासरह उठाउँछौं ।’

प्राधिकरणले पहिलो पटक देशभरबाट विद्युत् महसुल नतिर्ने ग्राहकको विवरण संकलन गरेको हो । यसअघि प्राधिकरणले यस्तो सूची नबनाउँदा महसुल नतिर्ने ग्राहकले उन्मुक्तिी पाएका थिए । ‘कालोसूचीमा देशभरबाट ३३ हजार ६ सय २० ग्राहक परेका छन्,’ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका सहायक निर्देशक सूर्यप्रसाद शिवाकोटीले भने ।

प्राधिकरण स्रोतका अनुसार कालोसूचीमा पर्नेमा प्रतिष्ठित उद्योगीसमेत छन् । प्राधिकरणले यस्तो सूचीमा परेका ग्राहकबाट बक्यौता उठाउन पहिलो चरणमा सम्बन्धित क्षेत्रीय कार्यालयबाट जानकारी गराई बक्यौता तिर्न ताकेता गर्नेछ । बक्यौता नतिरे प्राधिकरणले त्यस्ता ग्राहकले अन्य स्थानमा प्रयोग गरिरहेको विद्युत् लाइनसमेत काटिनेछ । त्यति गर्दा पनि पैसा नतिरे प्राधिकरणले त्यस्ता ग्राहकको नजिकको हकवालाको विद्युत् लाइन पनि काट्ने योजना बनाएको छ ।