४ कार्तिक २०८३, बुधबार

लुम्बिनी प्रदेश सभा : नीति तथा कार्यक्रममाथि छलफल हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत सातौं बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।

बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । त्यसपछि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेश गर्नेछन् ।

त्यसैगरी, प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को ‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नेछन् भने उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन् । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने जनाइएको छ ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । प्रस्तावमाथि छलफल पश्चात प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।