विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताएका हुन् ।
भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको बताउँदै उनले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए । तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उनले बताए ।
उनले कांग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको बताए ।
थापाले सरकारले सयदिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको भए पनि हाल त्यसतर्फ कुनै कदम नचालिएको बताए ।
थापाले भने, ‘भदौ २४ गते भएको वितण्डाको हिसाब–किताब हुन अझै बाँकी छ । त्यस दिन भएका घटनाबारे सत्य बाहिर आउनुपर्छ ।’
सभापति थापाले मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गरे । उनले आयोगले तत्काल प्रतिवेदन सार्वजानिक गर्नुपर्ने र सरकारले आयोगको प्रतिवेदन कार्यन्वयनमा लैजानुपर्ने बताए ।








प्रतिक्रिया