बाजुरा । बाजुरा–हुम्ला सीमा क्षेत्रअन्तर्गत हिमाली गाउँपालिका–३ लाम्पाटामा उत्पन्न भएको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ ।
बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटकमाथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वदलीय बैठकले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कानुनी कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सो क्षेत्रमा सुरक्षा निकायको उपस्थिति गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।
कर्णाली करिडोरअन्तर्गत हिमाली गाउँपालिका क्षेत्रमा सवारी साधन सञ्चालनमा अवरोध नगरी निर्वाध आवागमनको वातावरण बनाउन सबै पक्षसँग संवाद र समन्वय गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
उनले बाजुरा र हुम्ला जिल्लाबीचको आपसी सद्भाव कायम राख्दै घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याई आवश्यक सहयोग र समन्वय गर्न दुवै जिल्लाका सरोकारवालासँग अपिल गर्ने निर्णय गरिएको जानकारी दिए ।
हिमाली गाउँपालिका –३ लाम्पाटामा झडप हुँदा हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङ प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएका थिए । घाइते मध्ये ४ जनालाई थप उपचारको लागी हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । अस्थायी प्रहरी चौकी निर्माण र सिमा विवादमा दुई जिल्लाका स्थानीयबीच झडप भएको थियो ।
‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल लगायतको टिमलाई रानिसैन जानबाट रोक लगाइएको थियो।
विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका–३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्लीबासीहरुले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् ।
त्यस्तै, नेपाल पत्रकार महासंघ बाजुराले समेत घटनाको घोर निन्दा र भत्र्सना गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघ जिल्ला शाखा बाजुराका कोषाध्यक्ष उमेशबहादुर शाहीको ड्रोन क्यामरा र मोबाइल समेत जफत गरी तोडफोड गरेको र सोही विषयलाई लिएर महासंघ बाजुराका पूर्वअध्यक्ष प्रकाशबहादुर सिंहलाई सामाजिक सञ्जालमा गाली बेइज्जती गरेकोप्रति महासंघ बाजुराले खेद प्रकट गरेको छ ।















प्रतिक्रिया