काठमाडौं । भारतीय क्रिकेट टोलीका अर्का खेलाडी स्पिनर युजवेन्द्र चहल पनि विवादमा तानिएका छन् । चहलले उडिरहेको विमानभित्र ई–चुरोट पिइरहेको भिडियो बाहिरिएपछि उनी विवादमा तानिएका हुन् ।
जारी आईपीएलमा पञ्जाब किंग्सका चहलको यो भिडियो पञ्जाब किंग्स टोली एक शहरबाट अर्को शहरमा यात्रा गरिरहेको बेलाको हो ।
सामाजिक सञ्जालमा तीव्र भाइरल भइरहको यो भिडियो सुरुमा पञ्जाब किंग्सले नै सामाजिक सञ्जालमा हालेको र गल्ती महसुस गरेर हटाएको दाबी गरिएको छ । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडियोलाई डाउनलोड गरिसकेका थिए, जसकारण अहिले चहलले चर्को आलोचना खेपिरहेका छन् ।
उडानमा धूम्रपान वा ई–चुरोट प्रयोग गर्नु कडा रूपमा निषेधित गरिएको हुन्छ । विमानभित्र ई–चुरोट वा भेप बोक्दा र प्रयोग गर्दा आगलागीको जोखिम हुन्छ, जसले सयौं यात्रुहरूको जीवन जोखिममा पार्नसक्छ । यदी चहलविरुद्ध आधिकारिक उजुरी दर्ता भयो भने उनीमाथि कानुनी कारबाही हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि हालै, राजस्थान रोयल्सका कप्तान रियान परागले आईपीएलको एक खेलको क्रममा ड्रेसिङ रुममै ई–चुरोट पिउँदै गरेको देखिएको थियो । पछि उनीले गल्ती महसुस गर्दै माफी मागेका थिए । उनीमाथि कारबाही पनि भएको थियो ।








प्रतिक्रिया