३० आश्विन २०८३, शुक्रबार

ठगी आरोपमा सफाइ पाएपछि गायिका सिर्जनाले यसरी पोखिन् खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Srijana-Thapaकाठमाडौं । लोकगायिका एवम् सर्जक सिर्जना विरही थापालाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।

जिल्ला अदालतबाट प्राप्त फैसलाको पूर्णपाठअनुसार सिर्जनाले २०७१ साल मंसिर २९ गते सोमबार रकम लेनदेनको ठगी मुद्दामा सफाइ पाएकी हुन् । ‘प्रतिवादी सिर्जना विरही थापाले प्रस्तुत मुद्दाबाट सफाइ पाउने ठहरेकोले अरु केही गरिरहनु परेन’, मुद्दाको फैसलाको पूर्णपाठमा भनिएको छ ।

लोकगायिका एवम् सर्जक सिर्जनालाई उनकै निकटकी साथी काठमाडौं रानीवारी बस्ने ३६ वर्षीया लक्ष्मी रायमाझी धितालले २०७० साल साउन ३० गते ठगीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दिएकी थिइन् ।

लक्ष्मीले सिर्जनलाई एल्वम सिडी बनाउने बहानामा २०६८ साल पुस ११ गतेसम्म पटक पटक गरी ३० लाख ३५ हजार लगेको अभियोग लगाएकी थिइन् । गायिका सिर्जनाविरुद्ध लक्ष्मीले रकम नदिइ ठगी गरेको भन्दै गठी आरोपमा उजुरी दिएकी हुन् ।

तर जिल्ला अदालत काठमाडौंले गायिका एवम् सर्जक सिर्जनाविरुद्ध पेश भएका प्रमाण झुठ्ठा र आधारहीन रहेको भन्दै खारेजसमेत गरिदिएको छ । वादी नेपाल सरकार रहेको लक्ष्मीको मुद्दामा लामो सुनुवाइ र बहस पैरवीपछि सिर्जनाले सफाइ पाएकी हुन् ।

सोही मुद्दालाई लिएर गायिका एवम् सर्जक सिर्जना केही समय प्रहरी हिरासतमा समेत बस्नु परेको थियो । विनाप्रमाण र आधारविहीन मुद्दामा आफूलाई फसाइएको भन्दै सिर्जनाले गुनासोसमेत पोखेकी छिन् ।

‘म विनाकारण हिरासतमा बसे । अदालतमा मुद्दा खेप्नु पर्‍यो । मेरो चरित्र हत्या भयो । अब त्यसको क्षतिपूर्ति कसले दिन्छ ?’, सिर्जनाले प्रतिप्रश्न गरेकी छिन् ।

हाल अमेरिकामा रहेकी गायिका सिर्जनाले फोनमा भनिन्, ‘मैले खाँदै नखाएको र गर्दै नगरेको आरोप लगाइयो । मेरा विरोधीहरूले फसाउने प्रयास गरे । तर अदालतले फसाइ दिएर न्याय दिएको छ । म खुसी छु ।’

अदालतको फैसलाबाट सन्तुष्ट देखिएकी गायिका एवम् सर्जक सिर्जनाले आफ्नै नजिककी साथी लक्ष्मीले अरुको बहकाउमा आएर आफूविरुद्ध उजुरी दिएको गुनासो गरिन् ।

कुनै बेला सिर्जना र लक्ष्मी अत्यन्तै घनिष्ट साथी थिए । उनीहरूले व्यूटीपार्लरको व्यवसायपनि सँगै मिलेर गरेका थिए ।

यतिसम्मकी लक्ष्मीका पती लक्ष्मीनारायण रायमाझीलाई अमेरिका पठाउने बेला सिर्जनाले ठूलो सहयोग गरेकी थिइन् ।

हाल अमेरिकामा रहेका लक्ष्मीनारायाणलाई गरेको गुन लक्ष्मीले मुद्दा मामिला गरेर सिर्जनालाई चुकाएको आफन्तहरूको भनाइ छ ।

थुप्रै लोक तथा दोहरी गीतहरू रचना गरेकी तथा स्वरसमेत दिएकी सिर्जनाले आफ्ना समर्थक र स्रोताले आफूप्रति देखाएको माया र सद्भावप्रति खुसी छिन् ।

‘मलाई लागेको झुठ्ठा आरोप अदालतले खारेज गरिदिएपछि मेरा समर्थक र शुभेच्छुकहरूमा सन्तोषको भाव आएको छ’, सिर्जनाले भनिन्, ‘ढिलोचाँढो सत्यको जित हुन्छ । न्याय भनेको पाइन्छ । कुर्नमात्रै समस्या हो । जित सधैँ सत्यको हुन्छ ।’

नेपाली गीत संगीतको क्षेत्रमा आफूले पुर्‍याएको योगदानलाई आगामी दिनमो पनि निरन्तरता दिने उनले बताएकी छिन् ।

‘मेरो गीतसंगीतको यात्रा निरन्तर जारी रहनेछ । कुनै अबरोध हुने छैन,’ उनले भनिन्, ‘जीवनमा सानातिना अबरोध आउँछ । छिचोलेर आफ्नो यात्रालाई जारी रहनुपर्छ । म विचलित छैन ।’