४ कार्तिक २०८३, बुधबार

एमाओवादीमा जताततै भद्रगोल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist-Communist-Party-of-Nepalकाठमाडौं २६ साउन । दश वर्षअघिसम्म सैन्य संरचना र अनुशासनमा चलेको एकीकृत माओवादी अहिले भद्रगोल अवस्थामा छ ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षको अन्तर्संघर्षले अहिले एमाओवादी र उसका जनवर्गीय संगठन पनि अस्तव्यस्त रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

एमाओवादीको केन्द्रीय परिषद् अपूर्ण छ । कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका, तर अहिले सक्रिय रहन नसक्ने नेताको सम्मान र संरक्षण गर्न बनाउने भनिएको कम्युनिस्ट भेट्रान समितिसमेत बन्ने सकेको छैन ।

विराटनगर राष्ट्रिय सम्मेलनले यस्तो समिति बनाउने गरी विधान पारित गरेको थियो । एमाओवादीले पार्टी सदस्य कति छन् भन्ने विवरणसमेत संकलन गर्न सकेको छैन ।

पार्टीका महत्त्वपूर्ण विभाग अहिले निष्क्रियजस्तै छन् । केही जनवर्गीय संगठन तथा मोर्चाका राष्ट्रिय सम्मेलन नौ वर्षदेखि हुन सकेका छैनन् ।

सम्मेलन गरेका संगठनले पनि पदाधिकारीसमेत चयन गर्न सकेका छैनन् । शक्तिशाली भ्रातृ संगठन, युवा, मजदुर, विद्यार्थीको सांगठनिक अवस्था लथालिंग छ ।

उनीहरूलाई परिचालन गर्नसमेत पार्टीले सकेको छैन । पार्टीभित्रको अन्तर्संघर्षले सबै जनवर्गीय संगठनमा असर परेको नेताहरू बताउँछन् ।

एमाओवादी नेताहरू पार्टी भद्रगोल अवस्थामा पुगेको स्वीकार गर्छन् । तर, सार्वजनिक रूपमा भन्न भने रुचाउँदैनन् ।

‘पार्टी भद्रगोल रहेको देखिएकै छ, अझै भद्रगोलतर्फ गइरहेको छ,’ एमाओवादीका एक स्थायी समिति सदस्यले भने, ‘तर, शीर्ष नेताहरू भद्रगोल हटाएर पार्टीलाई पद्धतिमा चलाउनुपर्छ भन्नेतर्फ नहुनु दुःखद पक्ष छ । उनीहरू नै पार्टीलाई झन्–झन् भद्रगोल बनाउनेतिर लागेका छन् ।’