२१ कार्तिक २०८३, शनिबार

आमहड्तालले सुदूरपश्चिम अस्तब्यस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

news photo aamhadtal 24 sawan 2
चार दिनदेखिको आमहड्तालका कारण बन्द रहेको धनगढी बजार ।

– दीपक ओली
धनगढी, २५ साउन । विभिन्न पक्षको लगातार चार दिनदेखिको आमहड्तालका कारण यहाँको जनजीवन अस्तब्यस्त हुनपुगेको छ ।

आमहडतालले कैलाली र कञ्चनपुर जिल्लाका बजार, सार्वजनिक यातायात सेवा, शैक्षिक संस्था उद्योगधन्दा, कलकारखाना पूर्णरुपमा ठप्प रहेको छ । सर्वसाधरणहरु आफ्नो गन्तब्यसम्म जान नपाएर बीच बाटोमै रोकिएका छन् ।

प्रहरीले रातिको समयमा लुकीछिपी स्कटिङ् गर्ने गरेपनि सवारी धनीले चलाउन मानेका छैनन् । आमहडतालका कारण धनगढी र महेन्द्रनगरबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन नचल्दा भारतलगायत विभिन्न ठाउँबाट आएका यात्रुहरू बसपार्कमै रोकिएका छन् ।

लगातारको बन्दका कारण दैनिक मजदुरी गरेर साझबिहानको छाँक टार्र्नेहरू बढी मर्कामा परेका छन् । अरुको लुगाफाँटो सिलाई गरेर चार जनाको परिवार पाल्दै आएको थिएँ । तर, आमहडतालका कारण लुगाफाँटो सिलाउन नपाई साझबिहान खानमा समस्या भएको धनगढीको एलएन चोकका अमीत नेपालीले बताए ।

नेपालीले भने–‘बन्दका कारण आफूजस्ता दैनिक मजदुरी गरेर साझबिहानको छाक टार्नेहरुलाई ठूलो समस्या परेकोले बन्दबाहेक आन्दोलनका अरु कार्यक्रम गर्न बन्दकर्तासँग मेरो दश औला जोडेर बिन्ती छ ।’

news photo aamhadtal 24 sawan 1
धनगढीको एलएन चोकमा आमहडतालका कारण काम नपाएर मेसिनसँगै बसेका अमित नेपाली ।

उता, पैसा हुनेले पनि बजार व्यवसाय बन्द भएका कारण दैनिक उपभोग्य वस्तु नपाउँदा समस्या भएको बताएका छन् । पैसा भएर के गर्नु ? बजार बन्द छ । सामान पाईदैन् । सामान्य सामानका लागि पनि भारतीय बजार गौरीफन्टा जानु बाध्ययता रहेको हसनपुरका सन्तोष सिंहले बताए ।

त्यस्तै, भारतबाट दिनहुँ विभिन्न सरसामान भित्रिने कैलालीको त्रिनगर भन्सार नाकापनि आमहतालको मारमा परेको छ । यो नाकाबाट दिनहुँ ३० लाखसम्म राजश्व संकलन हुने भएपनि आहडतालका कारण हाल राजश्व संकलन हुन नसकेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत मानबहादुर बिकले बताए ।

सामान लोड भएर आएका गाडीहरु कार्यालय परिसरमै थन्किएका छन् । आमहडतालका कारण सामान धनीले सामान छुटाएर लिन नमानेकाले कार्यालयले राजश्व संकलन गर्न नसकेको हो, भन्सार अधिकृत बिकले भने ।

अखण्डको फिर्ता, थरूहट र हिन्दूको जारी

अखण्ड सुदूरपश्चिमको माग राखी आमहडतालमा उत्रेका अखण्ड सुदूरपश्चिम पक्षधरहरुले आइतबारबाट आमहडतालको कार्यक्रम फिर्ता लिएको छ भने थरुहट र हिन्दू पक्षको यथावत छ ।

अब बन्ने संविधानमा नेपाललाई हिन्दू राष्ट्र बनाइनुपर्ने माग गर्दै आमहडतालमा उत्रेका हिन्दू पक्षको बजार क्षेत्रमा तथा कैलाली र कञ्चनपुर जिल्लालाई सुदूरपश्चिमबाट विभाजन गरेर छुट्टै थरुहट प्रदेशको माग गर्दै आमहडतालमा उत्रेका थरूहट पक्षको प्रभाव ग्रामीण भेगमा प्रभाव परेको छ ।

शनिबार राति शीर्ष नेतृत्वले सुदूरपश्चिम अखण्ड रहने गरी कर्णाली अञ्चल सबै जिल्ला तथा भेरीका सुर्खेत, जाजरकोट र दैलेखसहित १८ जिल्ला जोडेर एक प्रदेश बनाउने सहमति गरी हस्ताक्षर गरेपछि आमहडतालको कार्यक्रम फिर्ता लिएको अखण्ड सुदूरपश्चिम जनआन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाले बताए ।

संयोजक देउवाले चार दिनदेखिको आमहतालको कार्यक्रम मात्र फिर्ता लिएको तर बिरोधका अन्य कार्यक्रम भने संसदबाट अनुमोदन नभएसम्म जारी रहने बताए ।

उता, कैलाली र कञ्चनपुर जिल्लालाई सुदूरपश्चिमबाट विभाजन गरी थरुहट प्रदेश बनाइनुपर्ने माग गर्दै आएका थरुहट पक्षधरहरुले भने घोषीत छ प्रदेश खाकाको बिरोध जनाउदै आमहडतालको कार्यक्रम यथावत रहेको जनाएको छ ।

कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लामा समावेश गरेर ल्याइएको प्रदेशको खाकाप्रति घोर आपत्ति छ । टुक्रा टुक्रा पारेको थरुहट भूमिको सहमतिको खारेजी नहुँदासम्म शनिबारदेखिको आमहडताल जारी रहेको थरूहट/थारूवान आन्दोलन परिचालन समिति कैलालीका संयोजक लाहुराम चौधरीले बताए ।

यसैगरी, नेपाललाई हिन्दू राष्ट्र घोषणाको मागसहित डेढ सातादेखि आन्दोलनरत हिन्दू राष्ट्र संघर्ष समितिले नेपाललाई हिन्दू राष्ट्र घोषणा नगरिएसम्म आन्दोलन जारी रहने समितिका संयोजक हरि रेग्मीले बताए ।

यातायातमा केही खुकुलो

यसैबीच, हिन्दू पक्षधरले यात्रुहरुको मर्कालाई ध्यानमा राखेर साझ ८ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । सो अवधिमा हरेक सवारी साधनहरु ऋा आफ्नो गन्तब्यसम्म गइसक्नुपर्ने हिन्दू राष्ट्र संघर्ष समितिका कैलाली संयोजक हरि रेग्मीले बताए ।