सुनसरी, २५ साउन । सुनसरीको तत्कालीन श्रीपुर गाउँ पञ्चायतमा चारपटक प्रधानपञ्चमा भएका अबधनारायण मरवैताको घर अहिले भारतको बिहार राज्यअन्तर्गत वीरपुर नगरपालिकामा परेको छ।
पुर्ख्यौली घर भएको गाउँको सीमा भारतले मिचेपछि आफ्नो घर मुलुकबाहिर परेको उनले बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
२०१८ सालमा भएको गाउँ पञ्चायतको पहिलो निर्वाचनमा उनी तत्कालीन श्रीपुर गाउँ पञ्चायतका प्रधानपञ्च चुनिएका थिए। त्यसपछि तीनपल्ट उनी प्रधानपञ्च भए।
उनले प्रधानपञ्च जित्दा जुन घर थियो त्यो हाल बिहारको सुपौल जिल्लाको वीरपुर नगरपालिकामा परेको छ। उनले भारत सरकारले श्रीपुर गाविसका सीमास्तम्भ बेपत्ता पारी नेपाली भूमि अतिक्रमण गर्दा यस्तो अवस्था आएको बताए।
सुनसरीको श्रीपुर गाविस १ मा त्यतिबेला अनकण्टार जंगल थियो। तर अहिले उक्त जंगल मासेर भारतले अतिक्रमण गरी बस्ती बसाएपछि नेपालको सयौं बिघा जमिन भारतमा परेको अवधनारायणले बताए।
उनले भने, ‘उतिबेला नेपाल–भारत सिमानामा काठका सीमास्तम्भ थिए। त्यसैले नेपाल भारतको सिमाना छुट्याउँथ्यो। भारतले काठका पिल्लर गायब पारेर पछिल्लो समयमा सिमेन्टको सीमास्तम्भ बनायो र मेरो घर भारतीय भूमिमा देखाइयो।’
१९९४ सालमा नेपालको श्रीपुरमा जन्मिएका अवधनारायणले भारतको वीरपुरबाट म्याट्रिक (एसएलसी) पास गरेका छन्। ‘म स्कुल पढ्न जाँदा मेरो घरसहितको यो पूरै जमिन नेपालमा थियो। घरनजिकैको जंगल नेपालकै थियो’, उनले बाल्यकाल सम्झँदै भने। अहिले आफू बसेको घरजग्गा भारतमा परेपछि आश्चर्यमा परेको उनले बताए।
उनी अहिले पनि श्रीपुर गाविसबाटै वृद्धभत्ता लिइरहेका छन्। उनका कान्छा छोरा सुरेश श्रीपुर गाविसको राष्ट्रिय माविमा शिक्षक छन्।
नेपाली भूमि अतिक्रमणका विषयमा नेपाल सरकार र भारत सरकारका प्रतिनिधिले वीरपुरमा पटकपटक वार्ता र छलफल पनि गरेका छन् तर अहिलेसम्म कुनै निकास निस्केको छैन।
एमाले केन्द्रीय सदस्य एवं स्थानीय बासिन्दा जगदीश कुसियतले पनि मरबैता परिवार बसेको पूरै जमिन नेपालकै भएको बताए। ‘अतिक्रमण गरिएको नेपाली भूमि भारतले फिर्ता गर्नुपर्छ’, उनले भने।
कुसियतले सुनसरीको दक्षिणी क्षेत्रका दर्जन बढी गाविसमा सीमा/स्तम्भ गायब पारी भारतीय पक्षले नेपाली जमिन अतिक्रमण गरेको बताए। उनले यो जमिन फिर्ता गर्न सरकारले ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
सप्तकोसीमा पटकपटक आएको बाढीले क्षति पुर्याएका कारण श्रीपुर उजाड बन्दै गएको छ। कुसियतले विशेष कार्यक्रम ल्याएर श्रीपुरको उजाडिएको जमिनलाई खेतीयोग्य बनाउन सरकारसँग माग पनि गरेका छन्। उनले नेपाली भूमि भारतले हडपेको विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि सरकारसँग माग गरे।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सुनसरीमा हराएका सीमास्तम्भ अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिए। उनले जिल्लामा नेपाली भूमि अतिक्रमण भएको सम्बन्धमा नापी विभागले कारबाही अगाडि बढाउनुपर्ने बताए।















प्रतिक्रिया