४ कार्तिक २०८३, बुधबार

ग्रिनकार्डधारी सचिवले देश छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US_Green_Cardकाठमाडौं, २५ साउन । अमेरिकाको ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) धारी भनिएका राजस्व सचिव नवराज भण्डारी शुक्रबार सुटुक्क अमेरिका उडे ।

उड्ने दिनसम्म पनि उनले अर्थ मन्त्रालयमा कसैलाई जागिर छाड्ने सुइँको नदिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

विधेयक समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनको मस्यौदामा आइतबार भएको छलफलमा उनले मन्त्रालयको प्रतिनिधित्व गर्नैपर्ने थियो र उनले आफ्नो उपस्थिति कन्फर्म पनि गरेका थिए।

आइतबारैको राजस्व समीक्षा बैठकमा पनि उनले हुन्छु भनेका थिए। निर्धारित कार्यक्रममा अनुपस्थित भएपछि उनको सोधीखोजी सुरु भयो।

आइप्याड, ल्यापटपलगायतका जिन्सी सामान स्टोरमा बुझाएको थाहा पाएपछि मन्त्रालयमा उनी अमेरिका हिँडेको लख काटियो।

मुख्य सचिव सोमलाल सुवेदीले उनले राजीनामा गरेको पुष्टि गरिदिएपछि सहकर्मीको अनुमान सही ठहरियो।

राजस्व समूहबाट सरकारी सेवा प्रवेश गरेका भण्डारीले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक र भन्सार विभागको महानिर्देशकको जिम्मेवारी समालिसकेका थिए।

पत्नीलगायत परिवारका बाँकी सदस्य अमेरिका बसाइँ सरेपछि उनी अमेरिका आतेजाते गर्न थालेका थिए।

उनले पनि ग्रिनकार्ड लिएको हल्ला फैलिएको थियो। भन्सार विभागको महानिर्देशकबाट अध्ययन बिदामा दुई वर्ष परिवारसग बिताएका उनी सचिव हुने बेला भएपछि फर्केका थिए।

अर्थमन्त्री रामशरण महतसँग निकटताका कारण उनले अर्थमा वित्तीय व्यवस्थापन महाशाखाको जिम्मेवारी पाएका थिए। अर्थमन्त्रीकै बलमा पुसमा उनी सचिवमा बढुवा हुन पाएका हुन्।

सचिव बढुवा हुने बेला सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतलाई ग्रिनकार्ड लिएको छैन भन्ने विश्वास दिलाएका कारण पनि उनी सुटुक्क हिँडेको अनुमान गरिएको छ।

जागिरमा रोक लगाउने कानुन पारित नभए पनि त्यतिबेला मन्त्री पण्डित ग्रिनकार्ड र पीआरधारीलाई बढुवा र महत्‍वपूर्ण जिम्मेवारीमा पुग्न नदिन लागिपरेका थिए।

पुसमा सचिव भएका भण्डारीले ग्रिनकार्ड परित्याग गरेको भए पूरा अवधि (पाँच वर्ष) सचिव खान पाउँथे।

‘के के पोथापोथी (कागजपत्र) बोकेर आएका उनले टाउकोमा हात राखेर ग्रिनकार्ड लिएको छैन भनेपछि बढुवामा बाधक बन्दिनँ भनेको थिएँ’, मन्त्री पण्डितले आइतबार अन्नपूर्णसँग भने, ‘यति उच्च अधिकृतले यस्तो झूटो कसम खान्छन् भनेर शंका गरिनँ।’

तैपनि यस्तो झूट बोल्नेहरू पुच्छर लुकाएर भाग्न बाध्य हुनुले आफ्नो अभियान सफल भएको पुष्टि भएको उनले बताए।