३० आश्विन २०८३, शुक्रबार

नेताको स्वार्थले जिल्ला टुक्र्याइयोः चित्रबहादुर केसी (अन्तर्वार्ता)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitra-bahadur-kc1 (1)६ प्रदेशको सीमांकनको क्रममा तीन जिल्लालाई टुक्र्याएपछि सम्बन्धित जिल्लाबासी आन्दोलित बनेका छन् । बागलुङ जिल्ला अनिश्चितकालको लागि बन्द भएको छ । जिल्ला टुक्र्याउनुको सान्दर्भिकताको विषयमा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीसँग दैनिक नेपालले गरेको छोटो कुराकानीः

सीमांकन गर्दा बागलुङ, नवलपरासी र रुकुमलार्ई टुक्राइएको छ, तपाई यसको बिपक्षमा, किन ?

राष्ट्रिय जनमोर्चाले १० वर्षदेखि संघीयताले सम्बृद्धि, अखण्ड र सुरक्षित होइन बिभाजन गर्छ भन्दै आएको थियो । नभन्दै सबैभन्दा पहिले बागलुङलाई टुक्र्याइयो । धौलागिरीको गण्डकीसँग नङ र मासुको जस्तो सम्बन्ध छ । तर, नेताहरुले बदमासी गरेर बागलुङलाई टुक्र्याएका छन् । यो सच्याउनु पर्दछ ।

कस्तो खालको बदमासी भन्न खोज्नुभएको ?

बागलुङको ढोरपाटनलाई देखाएर खान सिमित नेताको स्वार्थका लागि बागलुङ टुक्र्याइएको छ । ढोरपाटन भनेको नेपालको एक मात्र सिकार आरक्ष र पर्यटकीय स्थल हो । यसैको विरोधका लागि धौलागिरीका सभाषद्देखि काठमाडौंमा बस्ने धौलागिरीबासी आज दिनभर सिंहदरबारभित्र बस्यौँ ।

सम्वाद समितिका सभापति बाबुराम भट्राइलाई पनि भेट्नुभएछ, उहाँले के भन्नुभो ?

उहाँसँग दोहोरो कुरा हुन पाएन । हामीले निर्णय सच्याउनका लागि विज्ञप्ती बुझाएका छौँ ।

शीर्ष नेता कोहीसँग पनि दोहोरो सम्बाद भएको छैन ?

त्यो हुन सकेको छैन । तर, हामीले उहाँहरुलाई दवाव दिएका छौँ । संघीयताको नाममा जिल्ला अञ्चललाई फुटाल्न हुँदैन भनेका छौँ । सिमांकनमा २० वटा जिल्लालाई हिमाल, पहाडबाट छुट्याउने प्रयास भएको छ । पर्सादेखि महोत्तरीसम्मका आठ जिल्लालाई त हिमाल, पहाडबाट अलग बनाईसकिएको छ । हामीले बागलुङमात्र होइन नवलपरासी र रुकुम पनि नफोड्न भनेका छौँ ।

दलहरुले सुझबुझकै साथ जिल्ला टुक्राएका होलान् नी त ?

नेपालका राजनीतिज्ञले आफू र आफ्नो ग्रुपलाई केन्द्रमा राखेर निर्णय गरेका छन् । राष्ट्र र जनताको हितमा राजनीति गर्ने भएको भए त देश यस्तो हुँदै हुने थिएन । नियम कानुन बनाउँदादेखि हरेक निर्णय गर्दा आफूलाई फाईदाहुने गरी गर्छन् ।

तपाई त संघियता बिरोधी, फेरी किन संघीयताको विषयमा चासो राख्नुपर्‍यो ? बागलुङ टुक्र्याउनुपर्ने के कारण छ ?

संघीयताले बागलुङ मात्र होइन देश नै टुक्राउँछ । त्यसैले संघीयता खारेज हुनुपर्छ भन्दै आएका हौँ ।

सीमांकनको विषयमा तपाईको आपत्ति कहाँनेर हो ?

उत्तर, दक्षिण गरेर सीमाना कोरिनु पर्दथ्यो । प्रत्येक प्रदेशमा हिमाल, पहाड र तराई जोडिनु पर्दथ्यो । त्यसै भनेर अरु राजनीतिक दलहरुले संघीयताको भारी बोकेका थिएँ । प्रदेशमा हिमाल, पहाड र तराईलार्ई अलग बनाइएको छ । यसको दुस्परिणाम नेपाले भोग्छ ।

उसो भए टुक्रिएको जिल्ला फेरी जोडिन्छ त ?

त्यहीँ आशा गरेका छौँ । राजनीतिक पार्टीका अधिकांश नेताहरुले पनि बागलुङलाई टुक्र्याउनु गलत भयो भनेका छन् । यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो बिनम्र अनुरोध छ ।

प्रस्तुतीः विश्वास खड्काथोकी