–कृष्ण पौडेल
कपिलवस्तु । कहिल्यै कापी–कलम समाउने अवसर नपाएकी एक आमाको हातमा आज परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका छ । सायद यो दृश्य धेरैका लागि सामान्य लाग्न सक्छ, तर ३२ वर्षीया शर्मिला थारुका लागि यो कुनै साधारण क्षण होइन यो त वर्षौंदेखि मनको कुनामा दबिएर बसेको सपनाले फेरि सास फेरेको ऐतिहासिक पल हो ।
कपिलवस्तुको शिवराज नगरपालिका–४ निवासी ३२ वर्षीया शर्मिला थारु सानैदेखि पढ्ने ठूलो रहर बोकेकी थिइन् । विद्यालयको घण्टी बज्दा कक्षाकोठातर्फ दौडिने बालबालिकालाई टुलुटुलु हेर्दै उनी मनमनै सोच्थिन् काश, म पनि यस्तै किताब बोकेर पढ्न पाउँथे । तर गरिबीको कठोर यथार्थले उनको त्यो सपना निर्ममतापूर्वक चुँडिदियो । हातमा कापी होइन, जिम्मेवारी आयो; काँधमा झोला होइन, जीवनको भारी आयो ।
समय बित्दै गयो । बाल्यकालको त्यो अधुरो सपना विस्तारै जीवनको भीडमा हरायो जस्तो लाग्यो । उनी आमा बनिन्, परिवारको जिम्मेवारी बढ्यो । तर शिक्षाप्रतिको तिर्सना भने कहिल्यै मरेन बरु, त्यो त झन् भित्रभित्रै सल्किरहेको आगो जस्तै थियो ।
जब उनका छोराछोरी विद्यालय जान थाले, त्यही आगो फेरि प्रज्वलित भयो । बेलुका घरमा गृहकार्य गर्दै गरेका सन्तानहरूले जब सोध्थे आमा, यो कसरी गर्ने ? त्यो प्रश्न उनको मुटुमा तीरझैँ बस्थ्यो । उत्तर दिन नसक्ने अवस्थाले उनी भित्रभित्रै टुट्थिन् । त्यो क्षणमा उनी केवल एक असहाय आमा मात्र होइन, एउटा अधुरो विद्यार्थी जस्तै महसुस गर्थिन्, जसले कहिल्यै आफ्नो कक्षा पूरा गर्न पाएन ।
धेरै रात उनी चुपचाप आँसु झार्थिन् । कसैलाई केही नभनी, आफ्नै मनसँग लडिरहन्थिन् । तर त्यो पीडाले अन्तत उनलाई कमजोर बनाएन बरु, एक दिन त्यही पीडाले उनलाई एउटा ठूलो निर्णय गर्न बाध्य बनायो अब म रोकिँदिन ।
त्यसपछि सुरु भयो उनको जीवनको नयाँ यात्रा
शिवराज नगरपालिकामा लागू भएको निःशुल्क शिक्षा कार्यक्रम उनको लागि केवल एउटा योजना मात्र थिएन, त्यो त उनको सपनातर्फ खुल्ने ढोका थियो । मेयर अजय थापाको पहलले उनले फेरि पढ्ने साहस पाइन् । उनी श्री आधारभूत विद्यालय, मदवामा आफ्नै दुई सन्तानसँगै भर्ना भइन् ।
पहिलो दिन विद्यालय जाँदा उनीभित्र डर, लाज र उत्साह सबै मिसिएको थियो । उमेरले ठूली, तर कक्षामा नयाँ विद्यार्थी । साना बालबालिकासँगै बसेर अक्षर चिन्ने, लेख्ने, पढ्ने—यो सबै उनको लागि सजिलो थिएन । तर इच्छाशक्ति यति बलियो थियो कि कुनै पनि कठिनाइले उनलाई रोक्न सकेन ।
बिस्तारै उनले अक्षर चिनिन्, शब्द पढ्न सिकिन्, वाक्य बुझ्न थालिन् । हरेक दिन उनको आत्मविश्वास बढ्दै गयो । अब उनी केवल आफ्ना छोराछोरीकी आमा मात्र होइनन्, उनी उनीहरूको सहपाठी पनि बनिन् सपना सँगै बाँच्ने साथी ।
आज, जब ३२ वर्षको उमेरमा उनी कक्षा ४ को वार्षिक परीक्षा दिइरहेकी छन्, त्यो केवल एउटा परीक्षा होइन यो उनको संघर्ष, आँसु र अडानको परिणाम हो। हरेक उत्तरसँग उनले आफ्नो विगतलाई जित्दैछिन्, हरेक पानासँग उनले आफ्नो भविष्य लेख्दैछिन् ।













प्रतिक्रिया