काठमाडौं, २३ साउन । सर्वोच्च र तटस्थ मानिने राष्ट्रपतिको कार्यालय र उनको निवासबाट दलीय गतिविधिहरू सञ्चालन हुँदा यसले सार्वजनिक जीवनका मूल्य र राष्ट्राध्यक्षको छवि विवादमा तानिएको छ।
राष्ट्रपति यादवका छोरा एवं नेपाली कांग्रेसका तर्फबाट धनुषा- ५ का निर्वाचित सभासद् डा चन्द्रमोहन यादवले राष्ट्रपति निवासमा बसेर दलीय राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।
मुलुकको राजनीतिक यात्रामा लामो संघर्ष गरेका व्यक्तिदेखि कूटनीतिक ओहोदामा रहेकाहरूले यसलाई राष्ट्रपति पद, निवास र हैसियतको दुरुपयोग मानेका छन्।
चन्द्रमोहन शीतल निवासमा बस्दा पार्टी विशेषका कार्यकर्ताले त्यहाँ सहज प्रवेश पाएका छन्। कांग्रेसको दलीय राजनीतिमा सक्रिय रहेको आरोप बुबा यादवलाई लागिरहेकै बेला चन्द्रमोहनको शीतल निवास बसाइले त्यो आरोपलाई झन् प्रगाढ बनाएको छ।
नेपाली कांग्रेसका एक पदाधिकारीले अन्नपूर्णसँग भने, ‘छोरा चन्द्रमोहनलाई धनुषाको राजनीतिमा स्थापति गराउनेदेखि संविधानसभाको निर्वाचन जिताउनेसम्मका कार्यमा बुबा यादव प्रत्यक्ष संलग्न हुनु राष्ट्रपति पदकै लागि राम्रो होइन। राष्ट्रपति कांग्रेसका नेता होइनन्। अन्तरिम संविधान २०६३ अनुसार उनी सेरेमोनियल राष्ट्रपतिका रूपमा राष्ट्र र जनताप्रति उत्तरदायी हुनेमात्र हो।’
राष्ट्रपतिबाट समयसमयमा कांग्रेसको मात्र नभएर अन्य दलको राजनीतिमा समेत खेल्ने र खेलाउने काम भएको उनको दाबी छ।
संयोग र समानता अन्यत्र पनि छन्। भारतका राष्ट्रपति प्रवण मुखर्जीका छोरा अभिजित मुखर्जी पनि त्यहाँको लोकसभाका सदस्य छन् तर उनी राष्ट्रपति निवासमा बस्दैनन्। ‘मुखर्जीसँग व्यक्तिगत सम्बन्ध भएका डा यादवले किन उनीबाट केही सिक्न सक्दैनन्र’ एक कूटनीतिज्ञले भने।
राष्ट्रपतिको छोराले निर्वाचन लड्न सक्छन् र राज्य सञ्चालन गर्न सक्छन् तर बाबुसँगै शीतल निवासमा बसेर त्यसको दुरुपयोग गर्न पाउँदैनन् भन्ने बीपी कोइरालाका सच्चा अनुयायी राष्ट्रपतिले बुझ्नुपर्ने ती कूटनीतिज्ञले बताए।
उनले भने, ‘बीपी प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोइरालालाई मन्त्री दिनुपर्छ भन्ने विराटनगरका मजदुरहरूको माग उनले ठाडै अस्वीकारेका थिए।’
कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषाका सभासद् महेन्द्र यादवले शीतल निवासबाट प्राइभेट नम्बरको मोबाइल फोन प्रयोग गरी धनुषा, सिरहा, सप्तरी क्षेत्रका प्रशासकहरूलाई चन्द्रमोहनले दबाब दिने गरेको आरोप लगाए।
चन्द्रमोहनले राष्ट्रपति पदको दुरुपयोग गर्दा कांग्रेसको प्रजातान्त्रिक छविसमेत धमिलिएको दाबी केन्द्रीय सदस्य यादवले गरे।
यादव राष्ट्रपति हुन् कि कांग्रेसका नेता भन्ने आफूले बुझ्न नसकेको उनले बताए।कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाविरुद्ध मोर्चा बन्दी गरेर राष्ट्रपतिले पदकै गरिमा बिर्सेको दाबी उनले गरे।
यसअघि कांग्रेस नेता विमलेन्द्र निधिले समेत कांग्रेस सभापति निर्वाचनमा शीतल निवासको दुरुपयोग गरी सुशील कोइरालाको पक्ष र देउवाको विपक्षमा राष्ट्रपति यादव लागेको आरोप लगाएका थिए।
असोज २ गदेदेखि हुने पार्टीको १३ औं महाधिवेशन प्रारम्भमै सक्रिय सदस्यता वितरणका क्रममा धनुषा- ५ मा आतंक सिर्जना हुनुमा चन्द्रमोहनको राजनीति कारण भएको सभासद् महेन्द्र यादवले बताए।
चन्द्रमोहनले गरेको राज्य शक्तिको दुरुपयोगविरुद्ध आफूले आगामी केन्दीय समिति र संसदीय दल बैठकमा कुरा उठाउने जानकारी पनि यादवले दिए।
आधिकारिक स्रोतका अनुसार राष्ट्रपति यादव दुईपल्ट भारतको यात्रा गर्दा दुवैपल्ट छोरा चन्द्रमोहन पनि साथै गएका थिए।















प्रतिक्रिया