३० आश्विन २०८३, शुक्रबार

विज्ञापनमा कति खर्च गर्छ केजरिवाल सरकार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

k-jari-660x330नयाँदिल्ली । नयाँदिल्ली विधानसभा निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर सरकार बनाएको आम आदमी पार्टीको सरकारले विज्ञापनमा अत्यन्तै धेरै रकम खर्च गरेको विषय अहिले भारतीय राजनीतिमा चर्को बहसमा परेको छ ।

अरविन्द केजरिवाल सरकारले मेदेखि २२ करोड भारतीय रुपैयाँ विज्ञापनमा खर्च गरिसकेको छ । योमध्ये अधिकांश रकम सहरमा पोस्टर लगाउन र टिभी–रेडियोमा सरकारको प्रचारप्रसार गर्न खर्च गरिएको छ ।

दिल्ली सरकारको यो आक्रामक प्रचारविरुद्ध भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी पनि पोस्टर युद्धमा कुद्न थालेको छ ।

टिभी–रेडियोमा बजेका विज्ञापनमा केजरिवाल सरकारका उपलब्धिको विशेष चर्चा गरिन्छ । साथसाथै आम आदमी पार्टीले विज्ञापनमा राजनीतिक विरोधीप्रति पनि व्यंग्य गर्न थालेको छ ।

केजरिवाल सरकारले विज्ञापनमा व्यापक खर्च गर्न थालेपछि भारतीय कंग्रेस अदालतसम्म पुगेको थियो । दिल्लीको उच्च अदालतमा दिल्ली सरकारले उत्तर दिएको छ, ‘प्रचारप्रसारका लागि ५२३ करोड रुपैयाँको बजेटमा हामीले २२ करोड ३३ लाख मात्र खर्च गरेका छौँ ।’

दिल्लीका बसस्ट्यान्ड तथा चोकहरूमा केजरिवाल सरकारले पोस्टर टाँसेको छ । ती पोस्टरमा मुख्यमन्त्री केजरिवालको प्रशंसा गरिएको छ ।

भारतीय जनता पार्टीका दिल्ली प्रवक्ता राजीव बब्बरले यो प्रचारको विरोध गर्दै भनेका छन्, ‘पार्टीले निर्वाचनअघि गरेका वाचा के भए ? सबै कार्यकर्ता कहाँ गए ? यदि आम आदमी पार्टीलाई दिल्लीबारे विश्वास थियो भने किन विज्ञापनमा उसले यति धेरै खर्च गरिरहेको छ ?’

उता, दिल्ली सरकारको प्रचारको समर्थन गर्दै आम आदमी पार्टीका नेता आशुतोषले भारतीय जनता पार्टीको तुलनामा केजरिवाल सरकारले केही पनि विज्ञापन नगरेको बताएका छन् । उनले यो प्रचार भारतीय जनता पार्टी र विशेषगरी नरेन्द्र मोदीलाई चुनौती दिन गरिएको जनाएका छन् ।

एजेन्सी