काठमाडौं, २३ साउन । राजधानीका मुख्य चोकमा सवारी व्यवस्थापन सहज गर्न राखिएका ट्राफिकलाइट बल्न छाडेको पाँच वर्ष नाघेको छ ।
०६७ मा उपत्यकाका चोकमा बिग्रिएका लाइट अझै नबलेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
जसका कारण ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।
बजेट नभएको भन्दै लाइट मर्मत हुन नसकेका हुन् । ‘लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा किनै कठिन भइरहेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी जयबहादुर चन्द भन्छन्, ‘लाइटले काम नगर्दा धेरै जनशक्ति खटाउनुपरेको छ ।’
उपत्यकाको पुतलीसडक, सिंहदरबार, थापाथली, कालिमाटी, त्रिपुरेश्वर, दरबारमार्ग, केशरमहललगायतका स्थानमा रहेका ट्राफिकलाइट बिग्रिएका छन् ।
राजधानीका अरू धेरै मुख्य चोकहरूमा ट्राफिकलाइट नै छैनन् । ट्राफिक महाशाखाका प्रवक्ता एसपी पोषराज पोखरेलका अनुसार माइतीघरदेखि सूर्यविनायकसम्मको नयाँ सडकखण्डबाहेक अन्यन्त्र ट्राफिक प्रहरीले हात हल्लाएरै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।
कार्यालय समयमा सर्वसाधारणले समेत जभाभावी बाटो काट्ने गर्दा मुख्य चोकहरूमा कतिपय अवस्थामा सवारी व्यवस्थापन ट्राफिकको नियन्त्रणबाहिर पुग्ने गर्दछ ।
‘४० लाख सर्वसाधारण बस्ने देशको राजधानीमा हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्नु अन्तर्राष्ट्रिय बेइज्जत हो,’ एक ट्राफिक अधिकृतले भने, ‘यसले अनुशासन उल्लंघन गर्ने प्रवृत्ति र दुर्घटना दुवै बढाएको छ ।’
उपत्यकामा नियमित चल्ने सवारीसाधनको संख्या मात्र आठ लाख पुगेको छ । हरेक वर्ष झन्डै एक लाखका दरले सवारीसाधन थपिने गरेको यातायात व्यवस्था कार्यालयको तथ्यांक छ । ट्राफिकलाइट मर्मतको काम सडक विभागको हो ।
तर, विभागले यसलाई प्राथमिकतामा राखेको छैन । सडक विभागले ट्राफिकलाइट मर्मत नगरेपछि ट्राफिक अधिकारीहरू विदेशी सहयोग खोज्न थालेका छन् ।
विभिन्न चोकमा जडान गरिएका बत्तीहरू जापान सरकारले सहयोग गरेको हो । तर, विदेशीले गरेको सहयोग पनि सदुपयोग हुन सकेन ।















प्रतिक्रिया