काठमाडौँ, २२ साउन । पछिल्लो तीन वटा निर्वाचनमा प्रकाश ज्वाला, तीनपटक नै चुनाव लडे । तर, सबै निर्वाचनले प्रकाशलाई अँध्यारो उपहार दिएको छ । ०५६ को निर्वाचनमा बुवा गुमाए । र, ०६४ को निर्वाचनमा अर्धाङ्गिनी ।
०६४ को चुनाव । एमालेबाट उमेद्वार बनेका प्रकाशलाई ठूलो चुनौती थियो । सल्यानबाट चुनाव लड्न कहाँ सजिलो थियो र ? जहाँ तत्कालिन माओवादीको जगजगी थियो । वा भनौँ उनीहरुकै भाषामा ‘आधार इलाका’ नै थियो ।
उनकी पत्नीलाई रोगले थिच्दै थियो । अस्पताल भर्ना गरेर प्रकाश प्रचारप्रसारमा लागे । उनी यसरी प्रचारप्रसारमा हिँडे कि, मानौँ पत्नी बिरामी भएको प्रकाशलाई जानकारी नै छैन । विरामी पत्नीसँग उनी एक दिन राम्रोसँग बस्न पाएनन् । ‘तिमीलाई कस्तो छ’ भनेर ढुक्कसँग सोध्न पाएनन् । पत्नी प्रशव पीडामा छट्टाइरहिन्, प्रकाश राजनीतिक प्रचारमा कुँदिरहे ।
जब चुनाव सकियो, उनकी पत्नी पनि बाँकी रहिनन् । प्रकाशले विश्वास गर्नै सकेनन्, तर त्यो सत्य थियो । उनले पत्नीको पीडालाई नजिकबाट अनुभव गर्न नपाएकाले पनि काल्पनिक जस्तो लाग्नु स्वभाविक थियो । अहिले कहिलेकाँही उनलाई निकै ग्लानी र पछुतो लाग्छ, ‘कम्तीमा उपचारमा राम्रोसँग ध्यान दिन पाएको भए बचाउन पो सक्थेँ कि ।’
अब फेरि बिहे गर्ने वा नगर्ने भनेर उनलाई घोत्लिने फुर्सदसम्म छैन । प्रकाश खुल्छन्, ‘अति निकटका साथीहरु भेटिँदा बिहेबारे पनि कुरा हुन्छ । प्रायःले बिहे गर्न सुझाव दिन्छन् । कतिले यो उमेरमा किन झन्झट बेहोर्ने भन्छन् । छोराछोरी पाखा लागेपछि एक्लो भइन्छ भन्दै बिहे गर्न सुझाउँछन् ।’
उनीहरु जीवनमा कहिल्यै धित मरुन्जेल सँगै रहन पाएनन् । पत्नी गाउँमै पढाउन थालिन् । प्रकाश राजनीतिमा सक्रिय हुँदै गएँ । उनीहरुको आक्कल–झुक्कलमात्र भेट हुन्थ्यो । खलंगामा केही समयमात्र सँगै रहेका थिए । ज्वाला भन्छन्, ‘सँगै हुने अनुकुल नै मिलेन ।’ सँगै हुने अनुकुल मिल्न के थालेको थियो, सुशीलादेवी सुवेदी सँधैका लागि टाढिइन् । दुर्भाग्य, सुशीलाले मृत्यूशैयामा छटपटाउँदा समेत प्रकाशको मुख नजिकबाट हेर्न पाइनन् । न त प्रकाशले नै पाए ।
…..
सामान्य परिवारमा जन्मिएका प्रकाश जहिल्यै आर्थिक संकटको दलदलमा हुन्थे । उनकी सुशीला दरिलो आधारस्तम्भ थिइन् । एक हिसाबले भन्दा उनले नै परिवार धानेकी थिइन् । तर, कम उमेरमै सुशीलाको जीवनलाई रोगले जित्यो । सुशीला, प्रकाश ०४२ सालमा जोडिए, ०६४ सालमा सदाका लागि छुट्टिए । प्रकाश भन्छन्, ‘उता चुनावमा पराजय भएको ऋणको भार, यता श्रीमती रहिनन् । लामो समय एक्लो र उदास भएँ । तर, घटनालाई स्वभाविक रुपमा लिनुबाहेक अर्को उपाए थिएन । किनकी मैले बाटो नै त्यस्तो रोजेको थिएँ । म सँधै अरुकै लागि हिँडे ।’ अप्रत्याशित पीडालाई प्रकाशले लामो समय गाउँमै बसेर सामना गरे । राजनीतिमा सक्रिय भएपछि उनी कहिल्यै त्यसरी गाउँमा बसेका थिएनन् ।
जेठो छोरा त अलि ठूलै थिए । तर कान्छो छोराले मातृशोकको पीडालाई सहनै सकेनन् । कान्छो छोरा मात्र १४ वर्षका थिए । छोरालाई देख्दा प्रकाशको मन पछिसम्म अमिलो भएर आउँथ्यो । छोराको क्रन्दनले आँशु चुहिन्थ्यो ।
…..
सभासद् ज्वाला बिहान सबेरै घरबाट निस्कन्छन् । राजनीतिक भेटघाटमा ब्यस्त हुन्छन् । बेलुकी घरपुग्दा करिब ९ बजिसकेको हुन्छ । कोठामा उनका आमा, एक छोरा र, भाइका दुई छोरी छन् । उनीहरुले खाना पकाउँछन् । फुर्सदको समयमा प्रकाश पनि सहयोगमा जुट्छन् । यसरीनै बितेका छन् उनका दिन । भन्छन्, ‘बढी व्यस्त भएर होला, एक्लो छु वा छैन भन्ने नै थाहा हुन्न । राजनीतिक काममा व्यस्त हुने र बँचेको समय पढाई लेखाइमा विताउने भएकाले पनि त्यति एक्लोपनको महसुस भएको छैन ।’
प्रकाश ४७ वर्ष पुगे । व्यस्तताको कारण व्यक्तिगत जीवनबारे सोच्नै पाएका छैनन् । अब फेरि बिहे गर्ने वा नगर्ने भनेर उनलाई घोत्लिने फुर्सदसम्म छैन । प्रकाश खुल्छन्, ‘अति निकटका साथीहरु भेटिँदा बिहेबारे पनि कुरा हुन्छ । प्रायःले बिहे गर्न सुझाव दिन्छन् । कतिले यो उमेरमा किन झन्झट बेहोर्ने भन्छन् । छोराछोरी पाखा लागेपछि एक्लो भइन्छ भन्दै बिहे गर्न सुझाउँछन् ।’
उनका जेठो छोरा अहिले युकेमा पढ्दै छन् । प्रकाश भन्छन्, ‘फोनमा छोराले बुवा एक्लै गाह्रो हुन्छ, साथी खोज्नुस भनिरहन्छ ।’ उनको ७८ वर्षिया आमा पनि प्रकाशका भविश्यवारे निकै चिन्तित छन् । आमाले पनि त्यसै भन्छिन्, जुन प्रकाशका जेठा छोराले सुझाव दिन्छन् । प्रकाशले अन्त्यमा भने, ‘आमा त बुहारी भित्राउन उत्साहित हुनुहुन्छ ।’
प्रस्तुतिः दैनिक नेपाल

















प्रतिक्रिया