काठमाडौ, २२ साउन । तातोपानी र रसुवागडी नाकाबाट गरिँदै आएको चीनसँगको व्यापार तराईका भन्सारबाट सुरु भएको छ ।
भूकम्पले चीनसँगको प्रमुख नाका तातोपानी जोड्ने अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि व्यापारीहरुले तराईका भन्सारबाट सामान भित्र्याउन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
भूकम्पले कमजोर बनाएको सडकको ठाउँ(ठाउँबाट पहिरो गईरहेकाले दसैंका सामान पनि तातोपानी नाकाबाट नआउने निश्चित भएको छ ।
त्यसैले दशै नजिकिदै गएकाले यतिबेला अधिकांश व्यापारी सामान अर्डर गर्न चीन गएका छन् । तातोपानी नाकाबाट सय भन्दा बढी व्यापारीका र्फमले सामान आयात गर्दै आएका थिए ।
नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव अर्जुन गौतमले चिनियाँ बस्तु तराईका नाकाबाट भित्रन थालेको जानकारी दिए ।
चीनबाट तयारी पोसाक, कपडा, जुत्ता, स्याउ, फर्निचर, ब्ल्याङेट, सिरक, खेलौना, व्याग, उद्योगका कच्चा पदार्थ, कम्प्युटरपार्टसलगायतका सामान तातोपनी नाकाबाट भित्रने गरेको थियो ।
सामान विराटनगर, विरगञ्ज, काकडभिट्टालगयतका नाकाबाट आउन थालेको व्यापारीहरुले वताएका छन् ।
दसैंका लागि झण्डै हजार कन्टेनर सामान चीनको विभिन्न बजारमा अर्डर भैसकेको छ । सीमापारका सचिव निरज राईका अनुसार खासाको वाटो भन्दा समुन्द्रबाट भारतहुँदै तराईको नाका प्रयोग गर्दा आयातका लागि धेरै समय खर्च हुने छ ।
खासाको वाटो प्रयोग गर्दा चीनको विभिन्न सहरबाट २०/२५ दिनमा सामान तातोपानीमा आईपुग्छ । ‘समुन्द्रको वाटो ल्याउँदा ४०/४५ दिन लाग्छ’, राईले भने ।
तराईबाट सामान आयत गर्दा लागत र समय बढी खर्च हुने भएकाले उत्तरी नाकाबाट आएसरहको सामानको परिमाण नआउने व्यापारीहरु वताउँछन् ।
‘तर दसैंका लागि सामान आपूर्तिमा समस्या हुँदैन’, राई भने, ‘लगानी बढाउनुपर्ने भएकाले साना व्यापारीलाई भने विस्थापित हुने खतरा रहन्छ ।’
यसैबीच तातोपानी र रसुवागडीको प्रयोग अनिश्चित देखिएको छ । पहिरो जाने क्रम नरोकिएकाले तातोपानी नाकाबाट दसै अगावै व्यापार हुने संभावना छैन । यो नाकाबाट सामान ल्याउन कम्तिमा एक महिना अगावै चीनमा अर्डर पठाउनुपर्छ ।
नाकामा चीनको सहयोगमा यातायात सञ्चालनको प्रयास भैरहेपनि अघिल्लो दिन खुलेको यातायात भोलिपल्टै बन्द हुने गरेको छ ।
गत शनिबारदेखि चिनियाँ र नेपाली सेनाले पहिरो पन्छाएर सडक खलाउने प्रयास गरिरहेको छ ।
मंगलबार सडक खेलेको भनिएपनि तातोपानीको दशकिलो भन्ने स्थानमा ठूलो पहिरो गएर आवतजावतनै बन्द भएको थियो ।
तातोपानी भन्सार मात्र होईन यो क्षेत्रका सवै सरकारी कार्यालय बन्द छन् । स्थानीय घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
अहिले चिनियाँ टोलीले राजमार्गको यातायात सञ्चालन गर्न सय भन्दा बढीको प्राविधिक समूह कार्यरत छ ।















प्रतिक्रिया