सुर्खेत । कर्णालीमा बिहानैदेखि मतदान शान्तपूर्ण रुपमा सुरु भएको छ । विभिन्न पार्टीका प्रमुख नेताहरु र उम्मेदवारहरुले आफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेका छन् ।
पूर्वगृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट–५ को यमुना नन्द नमुना मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् । जनार्दन प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा चुनावी प्रतिस्पर्धामा छन् ।
नेकपा (माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ–६ को नन्दादेवी मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेपाली कांग्रेस कालिकोटका उम्मेदवार हर्षबहादुर बमले कालिकोट पचालझरनामा रहेको पञ्चकालिका मावि बाझकोटमा पहिलो मतदान गरे भने कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले नरहरिनाथ–३ को गाउँपालिका भवन मतदान केन्द्रमा मतदान गरेका छन् । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले सुर्खेतको वीरेन्द्रनगर–१ सरस्वती प्रावि मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन् ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको पचाझरना–९ मा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।
मतदान सुरु भए पनि कर्णालीका विभिन्न मतदान केन्द्रहरुका मतदाताहरुको उपस्थिति पातलो देखिएको छ ।















प्रतिक्रिया