४ कार्तिक २०८३, बुधबार

विष्णु पौडेलको पहलमा अघि बढ्यो ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत गिरी

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु जिल्ला, रुपन्देही जिल्ला र नवलपरासी जिल्ला समेटिने गरी तयार पारेको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ ।

सहरी विकास मन्त्रालयमार्फत अगाडि बढेको यो परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भएर अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकको मुख्यालयमा पुगेको छ । यो परियोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रुपन्देही, कपिलवस्तु र नवलपरासी (बसुप) का बुद्ध जन्मस्थलसँग सम्बन्धित पालिकाहरुले सहकार्य गरिरहेका छन् ।

यो १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बजेट अनुमान गरिएको परियोजना हो । विश्व बैंक र एसियाली विकास बैंकले परियोजनामा सहकार्य र लगानीका लागि सकारात्मक प्रतिबद्धता जनाइसकेका छन् । केही समयअघि प्रारम्भिक प्रतिवेदन तयार भएर विश्व बैंकको मुख्यालयमा पुगेको छ । अध्ययनमा नेपाल सरकार र विश्व बैंकको संयुक्त टोली खटिएको थियो ।

यो पूर्वमा नवपरासी (बसुप) को बर्दघाटदेखि पश्चिममा कपिलवस्तुको शिवराज र बिचको रुपन्देहीसहित तीन जिल्लाको भूभागलाई ‘बृहत् लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्यसहित केही वर्ष अघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगाडि सारेको एउटा ड्रिम प्रोजेक्ट हो ।

लगानीका स्रोत खोज्ने, थप क्षेत्रहरु समावेश गरेर पर्यटन गन्तव्यहरुको पहिचान, विकास र प्रवद्र्धन गर्नेलगायतका काममा विज्ञहरुले निरन्तर अध्ययन, अन्तक्र्रिया गरिरहेका थिए । अहिले सोही अध्ययनको एउटा चरण पूरा भएको छ ।

उनै पूर्वअर्थमन्त्री पौडेलको पहलमा विश्व बैंकबाट समेत विज्ञहरु संयुक्त अध्धयनमै सहकार्य गर्न तयार भएका थिए । अहिले संयुक्त अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार भएर विश्व बैंकको मुख्यालयमा पुगेको र केही समयपछि नेपाल सरकारसँग सम्झौता हुने सम्मको अवस्था छ ।

अब विश्व बैंकको मुख्यालयबाट अगाडिको प्रक्रिया आएपछि नेपाल सरकार र दातृ निकायका बिचमा ऋण सम्झौता हुने परियोजनाको समग्र समन्वय गरिरहेका नेपाल सरकारको सहरी विकास मन्त्रायलका महाशाखा प्रमुखसमेत रहेका सहसचित नवराज प्याकुरेलले जानकारी दिए ।

अध्ययन प्रतिवेदनमा अन्तर्राष्ट्रिय दातृ निकाय सकारात्मक हुनु, रुपन्देही, कपिलवस्तु र नवलपरासी (बसुप) का यससँग सम्बन्धित पालिकाका प्रमुखहरु र अगुवाहरु सहकार्यका लागि एकजुट हुनुले परियोजनाका लागि सुखद सन्देश दिएको सहसचिव प्याकुरेलले बताए ।

केही वर्षअघि ग्रेटर लुम्बिनीसहित काठमाण्डौं उपत्यका भिजन–२०४० को पनि परियोजना तय भएको थियो तर यो परियोजनामा उपत्यकाका १८ वटाभन्दा धेरै पालिकाहरुका बिचको समन्वयको काममै अल्झिइरहेको छ । यता लुम्बिनीको काममा भने गुणात्मक फड्को मारेको सहरी विकास मन्त्रालयको महाशाखाको समेत नेतृत्व गरिरहेका सहसचिव प्याकुरेलको भनाइ छ ।

परियोजनाले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा स्थापित गर्दै समग्र क्षेत्रको पूर्वाधार, आर्थिक गतिविधि, रोजगारी र दिगो सहरी विकासलाई एकीकृत ढंगले अघि बढाउने उद्देश्य राखेको छ । सम्पदाहरुको संरक्षण, दिगो विकास, सुशासन र समुदायको जीविकोपार्जनका विषयलाई यसमा प्राथिमकतामा राखिएको छ ।