४ कार्तिक २०८३, बुधबार

दाङको समृद्धिको नेतृत्व एमालेले गर्छः शंकर पोखरेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले विकास र एमाले एक–अर्काका पर्यायवाची भएको बताएका छन् ।

घोराही–१३, भ्यूडरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम र अनुभवी पार्टी एमाले मात्र भएको बताए ।

उनले केन्द्रमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि परेको उल्लेख गर्दै अबको निर्वाचनमा एमालेलाई सशक्त रूपमा जिताउनुपर्ने आवश्यकता औँल्याए । “केन्द्रमा एमालेको मजबुत उपस्थिति नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन”, उनले भने, “जिताएमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्छ ।”

पोखरेलले दाङको आर्थिक रूपान्तरणका लागि ३५० विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अगाडि बढाइने बताए । उद्योग, रोजगारी र उत्पादन वृद्धिमार्फत् दाङलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो ।

पर्यटन प्रवद्र्धनतर्फ ध्यान दिँदै उनले बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाए । प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनालाई उपयोग गर्दै दाङलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनाउने उनले बताए ।

आफू मुख्यमन्त्री हुँदा आर्थिक पारदर्शिता, सुशासन र नतिजामुखी विकासलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गर्दै उनले पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा थालिएका योजनाले त्यसको प्रमाण दिने उल्लेख गरे । “सुशासन र पारदर्शितासहित काम गर्दा परिणाम देखिन्छ”, उनले भने, “त्यसैले दाङको समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक छ ।”

कार्यक्रममा उनले कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर विकासको एजेन्डा घर–घरमा पु¥याउन आह्वान गरेका थिए । स्थानीयस्तरमा उल्लेख्य जनसहभागिता रहेको उक्त कार्यक्रममा विकास र स्थायित्वलाई मुख्य चुनावी मुद्दाका रूपमा प्रस्तुत गरिएको थियो ।

तुलसीपुर १७ मजगाउँमा आयोजित चुनावी सभामा बोल्दै पोखरेलले विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पु¥याउन सक्षम र प्रभावकारी नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले अधुरा योजना पूरा गर्न र सुरु भइसकेका आयोजना सम्पन्न गर्न आफूलाई पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरे ।

सभामा बोल्दै उनले भने, “दाङको विकास र समृद्धिका लागि शंकर पोखरेल अपरिहार्य छ भन्ने अभियान घर–घरमा पु¥याइदिनुहोस् । अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पु¥याउन सक्षम नेतृत्व आवश्यक छ ।”

आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको उल्लेख गर्दै उनले सरकार परिवर्तनसँगै केही आयोजना प्रभावित भएको दाबी गरे । “मैले नेतृत्व गर्दा दाङको विकासको आधार तयार भएको थियो । सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिन आवश्यक छ”, उनले भने ।

पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक आफ्नै पहलमा सुरु भएको उल्लेख गर्दै विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार तथा मानपुर–जलकुण्डी सडक स्तरोन्नतिजस्ता आयोजना मध्य दाङको विकासका लागि अनिवार्य रहेको बताए ।

“मध्य दाङको समग्र विकासका लागि सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य छ”, उनले जोड दिए ।

स्वास्थ्य क्षेत्रतर्फ उल्लेखनीय प्रगति भएको दाबी गर्दै उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।

दाङका अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा विकास गरिएको उल्लेख गर्दै उनले अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा जिल्लामै सुदृढ बनाउनुपर्ने धारणा राखे । पोखरेलले काठमाडौँबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने प्रतिनिधि दाङले रोज्नुपर्ने आवश्यकता औँल्याए ।

“काठमाडौँबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने नेतृत्व दाङले रोज्नुपर्छ । समृद्ध दाङ बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ”, उनले भने ।

सभामा उनले पार्टी कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर विकास, स्थिरता र समृद्धिको सन्देश घर–घरमा पु¥याउन आह्वान गरेका थिए । कार्यक्रममा स्थानीय नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । एमाले क्षेत्र नं. २ ले मंगलबारदेखि वडास्तरिय जनसभा गर्न सुरु गरेको छ ।