८ कार्तिक २०८३, आइतबार

राष्ट्रपति यादवको निर्देशन-‘राष्ट्रहित र राष्ट्रियता प्रवद्र्धनमा लाग्नुहोस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रहित र राष्ट्रियताको प्रवद्र्धनमा कूटनीतिक सेवाका कर्मचारी पूर्ण जिम्मेवारका साथ क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत परराष्ट्र सेवाका नयाँ अधिकृतसँग आज राष्ट्रपति कार्यालयमा भएको भेटमा उहाँले राष्ट्रसेवक सबै कर्मचारीले मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभयो ।

मुलुकको परराष्ट्र नीतिबारे गहन अध्ययन गरी सेवासँग सम्बन्धित विषयमा आफूलाई अद्यावधिक राख्न सुझाउँदै उहाँले देशको गरिमा वृद्धि हुने काममा आफूलाई सधँै समर्पित गर्न ती अधिकृतलाई निर्देशन दिनुभयो ।

सीमित स्रोत र साधनको उपयोग गरेर प्रतिष्ठानले कूटनीतिक सेवाका नयाँ अधिकृतलाई सेवाकालीन तालिम दिएकामा त्यसको सराहना गर्दै राष्ट्रपति यादवले आफ्नो सेवा विस्तार अझ सशक्त तुल्याउन आग्रह गर्नुभयो ।

त्यस अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. ऋषिराज अधिकारीले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिनुभएको थियो भने प्रशिक्षार्थीका तर्फबाट शाखा अधिकृत दीपक बिकले तालिममा सिकेका ज्ञान व्यवहारमा अनुवाद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यही साउन २८ पूरा हुने तीन महिने सेवाकालीन उक्त तालिममा दुई महिलासहित आठ जनाको सहभागी छन् । रासस