काठमाडौँ, २० साउन । सभासद् गगनकुमार थापाले सामुदायिक विद्यालयको स्तर नउठेसम्म संविधान मात्र बनेर सन्तोष लिन नसकिने बताउनुभएको छ ।
बूढानीलकण्ठ–१२, कपन, बेखस्थित बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै नेता थापाले सामुदायिक विद्यालयको स्रोत र शिक्षक हुँदाहुँदै पनि प्रगति गर्न नसक्नाको कारणबारे खोजी गरिनुपर्ने औँल्याउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर अधिकारी, उमाविका निमित्त प्राचार्य होमप्रसाद वाग्ले, सहायक प्रअ डोरप्रसाद आचार्यले विद्यालयमा आगामी दिनमा प्राविधिक विषय पनि पढाइने जानकारी दिनुभयो ।
विसं २०४६ मा स्थापित सो विद्यालयमा हाल करिब ११ सय विद्यार्थी अध्ययनरत छन् । गत वर्षको प्रवेशिका परीक्षामा विद्यालयका ७९.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
गरिब र न्यून आय भएका अभिभावकका छोराछोरीलाई गुणस्तरीय, प्राविधिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको छ ।
सो अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्ने ९८ वर्षीय रामप्रसाद शर्मा काफ्ले तथा समाजसेवी खिलनाथ अधिकारीका साथै गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयको ‘सामाजिक परीक्षण प्रतिवेदन’ सार्वजनिक गरिएको थियो ।
त्यस्तै विद्यालय हातामा निर्मित गणेश र सरस्वतीको मन्दिर परिसरमा आजै समीका दुई वृक्षरोपण गरिएको थियो । रासस















प्रतिक्रिया