काठमाडौं । काठमाडौंस्थित निसर्ग बाटिका स्कूलमा अध्ययनरत ११ वर्षीय कक्षा ५ का विद्यार्थी अविक गौतमको पहिलो उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको छ । करिब १०० जना विशिष्ट अतिथि, उनका विद्यालयका साथीहरू, उनीहरूका अभिभावक तथा परिवारजनको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता भुन्डीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीले गरेका थिए । प्रमुख अतिथिका रूपमा स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’ उपस्थित थिए । विशेष अतिथि तथा पुस्तकका समीक्षक प्रमोद प्रधान (बाल साहित्य समाजका निवर्तमान अध्यक्ष) रहेका थिए । साथै, समीक्षक तथा पत्रकार बिन्देश दहालले पुस्तकबारे आफ्नो धारणा व्यक्त गरे । कार्यक्रममा निसर्ग बाटिका स्कूलका प्रधानाध्यापक अतिथि वक्ताका रूपमा उपस्थित थिए ।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरामण सिलवाल र बालअधिकार अभियन्ता कृष्ण सुवेदीले पनि मन्तव्य राखेका थिए । लेखकका अभिभावक रवीन्द्र गौतम र सविना थापा तथा हजुरबुबा रामकुमार थापाको समेत उपस्थिति रहेको थियो ।
भुन्डीपुराण प्रकाशनद्वारा प्रकाशित उक्त उपन्यास अविकले ९ वर्षको उमेरदेखि लेख्न सुरु गरेका थिए र सन् २०२५ जुनमा प्रारम्भिक मस्यौदा पूरा गरेका थिए ।
साहसिक तथा कल्पनाशील कथामा आधारित यस कृतिले जिज्ञासा, साहस र अनपेक्षित यात्रामार्फत जीवन रूपान्तरणका विषयलाई उजागर गरेको छ ।
कार्यक्रममा वक्ताहरूले कम उमेरमै देखिएको सृजनात्मक क्षमता, कथाको संरचना र कल्पनाशील प्रस्तुतीको प्रशंसा गर्दै बालबालिकामा पठनसंस्कृति र सिर्जनशीलताको प्रवर्द्धनका लागि यस्तो पहल प्रेरणादायी रहेको उल्लेख गरे ।
पुस्तक भुन्डीपुराण प्रकाशन तथा प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहेको छ ।
















प्रतिक्रिया