८ कार्तिक २०८३, आइतबार

धनगढीमा डुबानको समस्या बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailaiधनगढी, २० साउन । धनगढी नगर क्षेत्रमा रहेका प्राकृतिक खोलानाला अतिक्रमण गरी घर, पर्खाललगायतका संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै जाँदा नगर क्षेत्रमा डुबानको समस्या विकराल बन्दै गएको छ ।

अव्यवस्थित रुपमा र रेखाङ्कनबिना नै विकास भएको धनगढी बजारको मुख्य सडक र सहायक सडक छेउमा पानी निकासको उचित व्यवस्थापन हुन नसक्दा वर्षायाममा डुबानले थप समस्या सिर्जना गर्ने गरेको छ ।

वर्षाको पानीले बर्सेनि डुबान हुँदा कतिपय बस्तीका बासिन्दा विस्थापित हुनुपर्ने समस्या स्थायी समस्या जस्तै बनेको छ ।

पानीको उचित निकास नहुँदा खास गरी नगर क्षेत्रको बोराडाँडी, विशालनगर, शिव नगर, सरस्वती नगर, बैया बेहँडी, मिलन चोक, त्रिवेणी चोक, हसनपुर, टोलका साथै मुख्य बजार नै डुबानमा पर्ने गरेको छ ।

बजार क्षेत्र हुँदै बग्ने कैलाली खोला, सेतो पुल नाला, भङ्गी नाला, रातो पुल नाला, छेउछाउको जग्गा वर्षौंदेखि निर्वाध रुपमा अतिक्रमण गरी संरचना निर्माण गर्ने गरिएको भए पनि नगरपालिका कार्यालय बेखबर जस्तै बन्दा समस्या सिर्जना भएको नगरवासीको गुनासो छ ।

“कतिपय खोलाको मुख्य मार्ग नै अवरोध हुनेगरी संरचना निर्माण गरिएकाले सानो वर्षा हुँदा पनि डुबानको समस्या भोग्नुपरेको छ”, धनगढी विशालनगर टोलका टेकराज जोशीले भन्नुभयो, “खोलामा पानी बग्ने मार्ग नै बन्द गरिँदासम्म पनि नगरपालिका कार्यालय उदासिन बनेको छ ।”

जग्गा धनीले पनि आफूखुसी जथाभावी रुपमा जग्गाको खण्डीकरण गर्दा पानी र ढल निकासमा उचित ध्यान दिन नसकेकाले पनि डुबानको समस्या बढेको जोशीको भनाइ छ ।

नगरविकास समितिले विगतमा जग्गा दर्ता गर्दा स्वार्थ र दबाबका कारण जथाभावी रुपमा खोला छेउछाउको जग्गा पनि व्यक्तिका नाममा दर्ता गरिएका कारण पनि अहिले आएर डुबानको समस्या सिर्जना भएको देखिन्छ ।

यता नगरपालिका कार्यालयका इन्जिनियर दिजराज भट्ट भने विगतमा खोलाको जग्गा व्यक्तिको नाममा दर्ता गरिनु, अव्यवस्थित रुपमा बसोबास हुनुलगायतका कारण डुबानको समस्या बढ्दै गएको स्वीकार्दै नगर क्षेत्रमा पानी र ढलको उचित निकासका लागि योजना बनाउने पहल भइरहेको बताउनुहुन्छ ।

एसियाली विकास बैंकको सहयोगमा धनगढी नगर क्षेत्रमा लागू हुन लागेको सहरी विकास परियोजनाअन्तर्गत नगर क्षेत्रको डुबानको समस्या समाधानका लागि दीर्घकालीन योजना बन्न लागेको इन्जिनियर भट्टले जानकारी दिनुभयो । रासस