हेटौंडा । आम निर्वाचन आउन अब केवल १५ दिन मात्र बाँकी छ । यससँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन् । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रहेका रामेश्वर राना पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
बुधबार बिहान ७ बजेदेखि नै रानाले हेटौंडा उपमहानगरपालिका–१४ नम्बर वडाबाट घरदैलो सुरु गरेका रानाले मतदाताको घरदैलोमा पुग्दै आफ्ना र पार्टीका एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट केही समय टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् ।
स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण उनले स्थानीय राजनीतिमा फरक पहिचान बनाएका छन् । यही कारणले पनि उनले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।
मकवानपुर–१ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वटा वडा, बकैया, बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा समेटिएका छन् । ४० वडा रहेको यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ तथा १० स्वतन्त्र गरी कूल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
















प्रतिक्रिया