९ कार्तिक २०८३, सोमबार

उदयपुरमा चुनावी तयारी तीव्र, सामग्रीदेखि जनशक्ति व्यवस्थापनसम्म अन्तिम चरणमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुरमा सबै तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचन सम्पन्न गर्न आवश्यक अधिकांश तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी डिगम कार्कीका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएको छ । मतदानस्थल तथा केन्द्रमा पठाइने सामग्री व्यवस्थित रूपमा व्यवस्थापन गरिसकिएको उनले जानकारी दिए । साथै, उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस प्रदान गर्ने कार्य पनि सुरु गरिसकिएको उनले बताए । हालसम्म एक जना उम्मेदवारले मात्र सिफारिस लिएको कार्कीको भनाई छ ।

उदयपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ३१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

त्यसैगरी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख दीपक दाहालका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । मतदातालाई मतदान प्रक्रिया तथा निर्वाचनसम्बन्धी आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । साथै, अस्थायी मतदाता नामावली संकलन कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइएको कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पनि अन्तिम चरणमा पुगेको छ ।

कार्यालयका अनुसार मतदान अधिकृत २७५, सहायक मतदान अधिकृत २७५ र सहायक कर्मचारी ८२५ गरी कुल १ हजार ६५० जना जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ । सम्बन्धित जनशक्तिको नामावली मुख्य निर्वाचन कार्यालयमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

यसैबीच, निर्वाचनमा प्रयोग हुने मतपेटिकाहरू पनि तयारी अवस्थामा राखिएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारीलाई तीव्रता दिइएको जनाएको छ ।