– रबिना बोहरा
बागलुङ, २० साउन । नयाँ बन्ने संविधानमा उत्पीडित दलित समुदायको हक अधिकार सुनिश्चितताको माग राख्दै बुधबार बागलुङ बन्द गरिएको छ ।
संविधानमा आफ्ना अधिकार सुनिश्चित गराउन दबाब दिने उद्देश्यले दलित अधिकार सङ्घर्ष समितिले मंगलबार काठमाडौंको बिजुलीबजारमा आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरी दमन भएको भन्दै यहाँका अधिकारकर्मीले बागलुङ बन्द गरेका हुन् ।
सञ्जालको देशव्यापी अभियान अन्तर्गत हिलो बिहान १० बजे देखि ११ बजेसम्म बजारका विभिन्न चोकमा चक्काजाम गरेको थियो । चक्का जाम अवज्ञा गरेको निहुमा कुटपिट गरेको आरोपमा प्रहरीले संजालका साधारण सदस्य तथा दलित युवा संजालका अध्यक्ष राजकुमार बोसेललाई पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वलिक कार्यालयमा कार्यरत बानपा–७ का गणेश शर्माले आफुलाई कुटपिट गरेको भन्दै लिखित उजुरी पेश गरेको आधारमा प्रहरीले बोसेललाई पक्राउ गरेको हो ।
चक्काजामको क्रममा मोटर साईकल चलाएका शर्मालाई आन्दोलनमा सहयोग गर्न अनुरोध गर्दा नमानेपछि सामान्य भनाभन मात्र भएको उत्पीडित दलित समुदायको संजाल बागलुङका अध्यक्ष टकबहादुर बोहोराले बताए । पक्राउ परेका सञ्जालका सदस्यलाई रिहाईको माग गर्दै पनि बन्दको आव्हान गरेको अध्यक्ष बोहोराले बताए ।
आफ्ना सदस्यलाई प्रहरीले रिहाई नगरेसम्म बागलुङमा अनिश्चितकालीन बन्द गरिने समेत सञ्जालले चेतावनी दिएको छ । आगामी श्रावण २१ गते काठमाडौमा हुने वृहत आमसभामा जिल्लाबाट सहभागी हुने तथा दलित समुदायको मागप्रति सम्बन्धीत निकाय गम्भिर नभए थप आन्दोलनका कार्यक्रम गरिने सञ्जालले वताएको छ ।
दलित समुदायले नयाँ संविधानमा अधिकार सम्पन्न राष्ट्रिय दलित आयोग, क्षतिपूर्ति सहित राज्यका रहेक निकायमा समानुपातिक आरक्षणको व्यवस्था, दलित हक अधिकारको ठाउमा दलित समुदायको अधिकार लगायतका विषयलाई समावेश गर्नुपर्ने माग राख्दै आएका छन् ।















प्रतिक्रिया