
नेपालगञ्ज, १९ साउन । पाँच बर्षअघि नेपालगन्जका सञ्चारमाध्यममा एक सामाजिक अभियान्ताका रुपमा परिचित नाम हो दान बहादुर शाही । एउटा गैर सरकारी संस्थामा सक्रिय भएर सामाजिक गतिविधि गर्दै आएका शाही परिवारको बोझ थाप्न नसकेर मलेसिया गए ।
‘मलेसियाको कमाईले पनि परिवारलाई सुख दिन सकिएन भन्ने लागेर बढो मुस्किलले सिंगापुर हानिए’, पुरानो दुःख सम्झदै शाहीले आइतबार भने, ‘त्यो सबै केका लागि किन गरेछु भन्ने पछुतोले आज पिरोली रहेको छ ।’ २० बर्षअघि नेपालगन्जमा प्रेम विवाह गरेर भित्र्याएकी श्रीमती रुक्मा कुमारी शाह (रुबी)ले आफुलाई चटक्कै छाडेर हिँडेपछि रनाहमा परेका शाहीले भक्कानिदै भने, ‘श्रीमती त रहिनन्, रगत पसिना बगाएर कमाएको जीवनभरको सम्पत्ति पनि सकिएछ ।’
शाहीका अनुसार, बागेश्वरी–२ खजुराका हरि पाण्डे भन्ने सोमन बहादुर पाण्डेले श्रीमती रुबीलाई भगाएका हुन् । ‘मेरी श्रीमतिलाई माया गरेर होइन मेरो सम्पत्ति देखेर जालझेल गरेको हुनुपर्छ’, आफु आएकै दिन श्रीमती पाण्डेसँग भागेपछि सोधीखोजीका लागि प्रहरी पुगेका शाहीले सञ्चारमाध्यमसँग गुहार माग्दै भने, ‘घरमा छोराछोरीको बेहाल छ ।’
दुई बर्षअघि तीन बर्षको कमाई लिएर आएका शाहीले घर बनाए । श्रीमतीलाई औधी माया गर्ने भएकाले उनकै नाममा घर सम्पत्ति जोडेका शाहीले अहिले थाहा पाए घर पनि अर्कैका नाममा पास भैसकेछ । ‘झण्डै ४० लाख रुपैयाँ जति मेरो कमाई र २० बर्षको प्रेम सबै लुटियो’, शाहीले भने, ‘हुँदाहुँदा छोराछोरी पनि मेरो नजिक आउन नरुचाउने बनाइएको छ ।’ आफ्नै घरमा रहेका शाही सँग १७ बर्षकी छोरी र १४ बर्षको छोरा छन् । ‘तर, उनीहरु मेरो नजिक पर्दैनन्’, शाहीले सन्तान मोहले पिरोलेको सुनाउँदै भन्छन्, ‘छोराले बरु बाबा भन्छ छोरी खोई नजिक पनि आउँदिनन् ।’ १९ बर्षकी ठूली छोरीको भने बिहे भैसकेको छ ।
तीन छोराछोरीकी आमा रुबिलाई लिएर फरार हुने पाण्डे आफै पनि तीन सन्तानका बाबु हुन् । प्रहरी स्रोतका अनुसार, एकातर्फी छोडपत्र गरी रुबिले पाण्डेसँग विवाह गरिसकेकी छन् । ‘घरमा दराज खोल्दा विवाह दर्ता र परपुरुषसँगको विभिन्न फोटोहरु देखेपछि छागाँबाट खसेझै भएँ’, शाहीले भने ।
सितापुर गाविसले विवाह दर्ता गरिदिएको छ । घरमा श्रीमती छोराछोरी हुँदाहुँदै गाविसले कसरी विवाह दर्ता गरिदियो भन्ने कुराको अनुसन्धान भैरहेको बाँके प्रहरी प्रवक्ता, डीएसपी सुशिल राठौरले बताए । शाहीको निवेदन आउनासाथ पाण्डे र रुबीको खोजी भैरहेको जानकारी दिंदै डिएसपी राठौरले धेरैको मिलेमतोमा कानुनी चलखेल समेतको आशंका गरे ।
पाण्डेलाई उनकी श्रीमतीले बहुविवाह गरेको भन्दै कानुनी उपचारका लागि प्रहरीमा पुगेपनि एकाएक निवेदन दर्ता फर्काइएको बताइएको छ । रुबीले शाहीको घर आफ्नी आमाको नाममा गरेकी छन् । साभार : नेपालगञ्ज न्यूज ।















प्रतिक्रिया