महेन्द्रनगर, १९ साउन । रिपोटर्स क्लब कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रसिंह महतासहित तीन जना पत्रकारमाथि हमला भएको छ ।
सोमबार राति साढे ८ बजेतिर गोबरैया स्थित पेट्रोलपम्म नजिकै रहेको एक होटेलमा पत्रकार महता सहित पत्रकारद्वय रमेश प्रसाद भट्ट र कुन्दन पाण्डेमाथि आक्रमण भएको हो ।
गोबरैयाका स्थानीय शंकर चन्दसहितको समुहले होटलमा आफू डाक्टर भएको भन्दै उपचार गरिदिने भन्दै एकाएक कुटपिट गरेको पीडित पत्रकारले बताएका छन् । पत्रकारसंगै बसिरहेका महेन्द्रनगरका स्वास्थ्यकर्मी बिरेन्द्र तिवारीसमेत कुटिएका छन् ।
कुटपिटबाट घाईते भएका पत्रकारको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आफूहरुलाई विना कारण कुटपिट गरेको भन्दै पत्रकार र स्वास्थ्यकर्मीको संयुक्त समुहले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
उनीहरुले आफूहरुमाथि गरिएको सांघातिक हमलाको बिरोध गर्दैै दोषीलाई कारबाही गर्न माग गरेका छन् । पत्रकारमाथि भएको घटनाको नेपाल पत्रकार महासंघ, बान, लगायत विभिन्न पत्रकार निकट संगठनहरुले विरोध गरेका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले विज्ञप्ती जारी गर्दै आक्रमणको भत्र्सना गरेको छ । आफ्नो पेशागत दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि भएको यस किसिमको आक्रमणले सिँगो प्रेस जगतलाई असुरक्षित बनाएको महासंघको ठहर छ ।
विज्ञप्तीमा नागरिकलाई सुसूचित गराउन अहोरात्र खट्ने पत्रकारहरुमाथि भएको यो आक्रमणको महासंघ घोर भत्र्सना गरिएको छ । आक्रमणमा संलग्न गोवरियाका शंकर चन्दसहितको समुहलाई तत्काल पक्राउ गरी कानुनी दायरामा लिई कारवाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्भिक पत्रकारिताको वातावरण निर्माण गर्न महासंघ स्थानीय प्रशासनसँग माग गरिएको छ ।
महासंघका सचिव केशव साउदद्धारा जारी गरिएको विज्ञप्तीमा आगामी दिनमा यस्ता घट्ना नदोहोर्याउन आक्रमणमा संलग्न पक्षलाई सचेत गराईएको छ । घटनाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अभिनारायण काफ्लले दोषीहरुको खोजी भइरहेको बताए ।















प्रतिक्रिया