१० कार्तिक २०८३, मंगलबार

काभ्रे–१ मा एमाले उम्मेदवार लामाको घरदैलो, भन्छन्– योजनाबद्ध विकासमार्फत परिवर्तन सम्भव छ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा जनमुखी नेतृत्वको प्रतिबद्धतासहित काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार अमित लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।

भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार लामाले आफू कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको विश्वास जित्नका लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।

“म बाहिरबाट आएको मान्छे होइन, यही माटोमा हुर्किएको, यही समाजसँग दुःख–सुख बाँडेको तपाईंहरूमध्ये एक हुँ,” उनले भने । उनले डाँडापारि क्षेत्रले भोग्दै आएको पीडा आफूले नजिकबाट देखेको र यहाँ लुकेको सम्भावनालाई पनि राम्ररी चिनेको उल्लेख गरे ।

“यहाँ अभाव छन्, तर क्षमता अझ ठूलो छ । समस्या छन्, तर समाधान सम्भव छन्,” भन्दै उनले योजनाबद्ध विकासमार्फत परिवर्तन सम्भव रहेको धारणा राखे ।

उम्मेदवार लामाले खाली बाचा होइन, काम गर्ने इमान, नतिजा देखाउने इच्छाशक्ति र जवाफदेही नेतृत्व लिएर जनतामाझ आएको बताए । सुखमा साथ दिने र दुःखमा काँध थाप्ने प्रतिनिधि बन्ने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा उनले एमालेको सूर्य चिन्हलाई आशा, उज्यालो र समृद्धिको प्रतीकका रूपमा उल्लेख गर्दै विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका लागि सूर्य चिन्हमा मतदान गर्न स्थानीयबासीसँग आग्रह गरे ।

स्थानीयबासीहरूसँग प्रत्यक्ष संवाद गर्दै अघि बढाइएको घरदैलो कार्यक्रमले काभ्रे–१ क्षेत्रमा चुनावी माहोललाई थप सक्रिय बनाएको छ ।