तेह्रथुम । नेकपा (एमाले) लालीगुराँस नगर कमिटीको विस्तारित बैठक आज (शनिबार) बसेको छ । वसन्तपुरस्थित मनमोहन स्मृति भवनको सभाहलमा बसेको बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै कार्ययोजना समेत बनाइएको हो ।
बैठकमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य लक्षुमन तिवारीले निर्वाचन केन्द्रित कार्ययोजना प्रस्तुत गर्दै पार्टीलाई वडा, टोल तहसम्म संगठित र क्रियाशील बनाउने रणनीतिबारे धारणा राखे । उनले जनताको विश्वास जित्नेगरी चुनावी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा प्रमुख अतिथि एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकालले वर्तमान राजनीतिक परिस्थितिमा एमाले नै देशको स्थिरता र विकासको भरोसायोग्य पार्टी भएको बताए । उनले एमाले सधैं जनताको पक्षमा उभिने पार्टी भएकै कारण एमालेप्रति जनसमर्थन बढ्दै गइरहेको भन्दै चुनावी कार्यक्रमलाई सोही अनुसार अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी, समानुपातिकतर्फकी उम्मेदवार विष्णुमाया विकले निर्वाचनमा पार्टीलाई विजयी गराउन जिल्लाका सबै नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न अनुरोध गरिन् ।
एमाले लालीगुराँस नगर कमिटी अध्यक्ष कमल केसीको अध्यक्षतामा सम्पन्न बैठकले घरदैलो अभियान लगायत पार्टीका कार्यक्रमहरुलाई तीव्रता दिने निर्णय गरेको बताइएको छ ।











प्रतिक्रिया