८ कार्तिक २०८३, आइतबार

कञ्चनपुरको बेदकोट तालका जलचरको अस्तित्व सङ्कटमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

betkot-tal

कञ्चनपुर, १८ साउन । कञ्चनपुरको चुरेको फेदीमा रहेको ऐतिहासिक धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बेदकोट तालमा रहेका जलचरको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।

तालमा रहेका जलचरलाई अज्ञात व्यक्तिका समूहले धमाधम मार्न थाले पछि ताल जलचरविहीन हुने अवस्थामा पुग्न थालेका छन् । माछा, कछुवा र अजिङ्गर सर्पलगायतका जलचरलाई केही महिना अघिदेखि मार्ने क्रम सुरु भएको बेदकोटस्थित बुढा वैजनाथ मन्दिरका पुजारी जीतसिंह देउवाले बताउनुभयो ।

अवैधरुपमा एक समूहले चोरी छिपी तालमा रहेका जलचर धमाधम मार्न थालेपछि संरक्षणको प्रयास हुन नसकेको उहाँले बताउनुभयो । “तीन दिनअघि मात्रै ताल नजिकै वर्षौंदेखि ताल छेउमा बस्दै आएको अजिङ्गर सर्प मारेर फालेको अवस्थामा फेला परेको थियो” उहाँले भन्नुभयो ।

माछाका विभिन्न प्रजातिका लागि प्रसिद्ध बेदकोट तालमा माछा मार्ने समूह दैनिक सक्रिय रहने गरेकाले सोही समूहले सर्पलाई मारेको हुनसक्ने बताइएको छ ।

यसैगरी, चुरे पर्वतबाट बगेर आउने खहरे खोलाले वर्षात्को उर्लिदो भेलसँगै बगाएर ल्याउने माटो, बालुवा र ढुङ्गाका कारण ताल पुरिँदै गएको छ । पाँच हेक्टर क्षेत्रफलमा ताल फैलिएको छ । जैविक विविधताले भरिपूर्ण बेदकोट तालमा विभिन्न प्रजातिका माछा, गोही, कछुवा र राजहंसको मुख्य बासस्थान रहेको छ । यो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका साथै पिकनिक, व्रतबन्ध, विवाह समारोह आयोजना गर्ने क्षेत्रका रुपमा समेत परिचित रहेको छ ।

ताल क्षेत्र वरिपरि रहेका पुराना धार्मिक संरचना जीर्ण बन्दै गएका र नयाँ निर्माण गरिन लागेका भौतिक संरचना आर्थिक अभावका कारण पूरा हुन सकेका छैनन् ।

परापूर्वकालमा वनवासका क्रममा पाण्डवले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति रहेको छ । यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिको तपोभूमिका रुपमा समेत परिचित रहेको छ । रासस