– नरेन्द्रसिंह कार्की
दार्चुला, १७ साउन । दार्चुलाका विकासे अड्डाका अधिकांश कार्यालय प्रमुख कार्यालय कम काजमा बढी बस्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो चौमासिक अन्तरगत आइतबार गरेको छड्के अनुगमनमा कार्यालयका हाकिम नभेटिएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलको नेतृत्वमा गएको अनुगमन टोलीले सुदूरपश्चिम सिँचाई सव डिभिजन नं. ४, तथ्यांक कार्यालय दार्चुला र जिल्ला वन कार्यालयको छड्के अनुगमन गरेको हो ।
अनुगमन अन्तरतग सिचाई सब डिजिभन प्रमुख धुव्रराज पौडेल लगायत कार्यालयका अधिकांश कर्मचारी अनुपस्थित भेटिएको अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी कुइँकेलले बताए । ‘कार्यालयमा पुग्दा तीन जना कार्यालय सहयोगी बाहेक कोही भेट्न सकिएन, उनले भने–दुईजना कर्मचारी भने सहयोगीले फोन गरेपछि पुगे ।
सिँचाई सब डिभिजनका प्रमुख असार ३० देखि काजमा गएको जनाइएको छ । ‘कार्यालयका अन्य कर्मचारी कहाँ छन् भनेर बताउन सक्ने कर्मचारी नै भेटिएन’ अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी कुइँकेलले भने ।
विकासे अड्डाहरुका कार्यालय प्रमुख जिल्लामा नबस्दा काम काज प्रभावित हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवर भन्छन्, ‘कार्यालय प्रमुख नभए तुरुन्त विभाग क्षेत्रमा खबर गरिदिनुपर्यो ।’
यस्तै जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत चन्द्रदेव लाल कर्ण पनि काजमा गएका छन् । अहिले कार्यालय निमित्तको भरमा सञ्चालनमा छ । यस्तै जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी सहदेव रायमाझी साउन १४ गतेबाट घर बिदामा गएका छन् । यति बेला जिल्ला विकास समिति पनि निमित्तकै भर छ । जिल्लामा रहेका अधिकांश कार्यालय प्रमुखहरु असार सक्ने वित्तिकै घर बस्ने चलन रहिआएको छ ।















प्रतिक्रिया