रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । बिहीबार राति पैदल हिँडिरहेको अवस्थामा बौलाएको स्यालले एक्कासी आक्रमण गर्दा दुर्गा भगवती वडा नम्बर २ र ३ का बासिन्दाहरू घाइते भएका हुन् ।
घाइते भएका व्यक्तिहरू आज शुक्रबार बिहानै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुगेका छन् । उनीहरूले अस्पतालमा एन्टि–रेबिज भ्याक्सिन लगाएको बुझिएको छ ।
पछिल्लो समय रौतहटमा जनावरको आक्रमणका घटनाहरू बढ्दै गएका छन्। दुई दिनअघि मात्रै जिल्लाको गढीमाई नगरपालिकामा बौलाहा कुकुरले टोक्दा ५० जनाभन्दा बढी बालबालिका तथा वृद्धवृद्धाहरू घाइते भएका थिए ।
चिसो मौसम र बाक्लो हुस्सु लाग्ने समय भएकाले स्याल, कुकुर लगायतका जनावरहरूले लुकेर आक्रमण गर्न सक्ने जोखिम बढेको छ । यस्तो अवस्थामा बाटो हिँड्दा विशेष सावधानी अपनाउन र सतर्क रहन स्थानीय प्रशासन तथा सरोकारवालाहरूले आग्रह गरेका छन् ।








प्रतिक्रिया