काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगला (घर)लाई लक्षित गरी बम विस्फोटको धम्की दिइएको इमेल प्राप्त भएको खबर सार्वजनिक भएको छ ।
मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रमा रहेको एउटा विद्यालयमा उक्त धम्कीपूर्ण इमेल प्राप्त भएको थियो ।
यस घटनाबारे मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
यद्यपि, धम्कीले अभिनेता बच्चनको ‘जलसा’ वा ‘प्रतीक्षा’मध्ये कुन बंगलालाई विशेष रूपमा लक्षित गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
यसअघि बीएमसीको कार्यालयमा पनि धम्कीपूर्ण इमेल प्राप्त भएको थियो । त्यसपछि कार्यालयमा सुरक्षा जाँच गरिएको र कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको मुम्बई प्रहरीले जनाएको छ ।
बीएमसी मुम्बईको नगर प्रशासन सञ्चालन गर्ने तथा अत्यावश्यक नागरिक सेवाहरू उपलब्ध गराउने जिम्मेवारी पाएको स्थानीय निकाय हो । यसको कार्यालयमा धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा जाँच गरिएको थियो ।
मुम्बई प्रहरीका अनुसार इमेल प्राप्त भएपछि कार्यालयमा जाँच प्रक्रिया अघि बढाइएको थियो । तर, निरीक्षणका क्रममा कुनै पनि शङ्कास्पद वस्तु वा सामग्री फेला परेन ।
यसअघि मार्च २० मा पनि यस्तै घटना भएको थियो । मुम्बई प्रेस क्लबमा प्राप्त धम्कीपूर्ण इमेलमा भवनभित्र विषाक्त ग्यास भरिएका धेरै साना बम राखिएको र दिउँसो १ बजे विस्फोट हुने दाबी गरिएको थियो । एक अधिकारीले यसबारे जानकारी दिएका थिए ।
प्रारम्भिक जानकारीअनुसार उक्त इमेल कथित रूपमा आफूलाई ‘नीराजा अजमल खान’ भनेर चिनाउने व्यक्तिले पठाएका थिए ।
प्रेषकले प्रेस क्लबको भवनभित्र विषाक्त ग्यास भएका ४२ वटा उपकरण जडान गरिएको दाबी गरेका थिए । एएनआई















प्रतिक्रिया