नेपालगञ्ज, १६ साउन । अख्तियार दुुरुपयोग अनुसन्धान आयोग इकाई कार्यालय कोहलपुरको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका इलेक्ट्रिकल सुपरभाइजर विनोद पण्डितलाई २५ हजार रुपैयाँ घुससहित शनिवार दिउँसो पक्राउ गरेको छ ।
अख्तियार इकाई कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) चित्र वहादुर गुरुङको नेतृत्वमा आएको टोलीले पण्डितलाई रङ्गेहात पक्राउ गरेको हो ।
टोलीले शनिवार दिउँसो करिव सवा २ वजे प्राधिकरणको गोलघरमा घुस लिँदालिँदै उनलाई पक्राउ गरेको टोली नेता गुरुङले जानकारी दिए ।
उनको साथबाट एक हजार दरका २५ गोटा नोट बरामद भएको छ । नेपालगन्ज धम्बोझीस्थित प्राइम लाइफ इन्स्योरेन्समा थ्रि–फेज विद्युत लाइन जोड्नका लागि पण्डितले उक्त इन्स्योरेन्ससँग २५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।
विद्युत लाइन जोड्न अनेकन समस्या सिर्जना गरेर उनले सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छापा मार्दा सेवाग्राहीले दिएको रकम फेला परेको डिएसपी गुरुङले बताए । पक्राउ परेका पण्डितलाई थप अनुसन्धानका लागि आयोग इकाई कार्यालय कोहलपुर लगिएको छ ।
यसैविच, अख्तियार दुुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला वन कार्यालय बाँकेका निमित्त प्रमुख सहायक जिल्ला वन अधिकृत बदरुद्दिन खाँलाई ४० हजार रुपैयाँ घुस लिँदालिँदै शुक्रबार पक्राउ गरेको थियो ।
अख्तियार सम्पर्क कार्यालय कोहलपुरको टोलीले शुक्रवार बेलुकी करिव ५ बजे खाँलाई घुससहित पक्राउ गरेको थियो । वन सम्बन्धि चलिरहेको मुद्दा मिलाई दिने भन्दै घुस लिने क्रममा उनलाई रंगेहात पक्राउ गरिको आयोगले जनाएको छ । उनी केही दिनयता निमित्त वन अधिकृतका रुपमा काम गर्दै आएका छन् ।
उनको साथबाट एक हजार दरका ४० वटा नोट बरामद भएको र मुचुल्का उठाएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको कुँवरले जानकारी दिए ।
कोहलपुर सम्पर्क कार्यालयका प्रमुख कुँवरको नेतृत्वमा खटिएको अख्तियारको टोलीले अधिकृत खाँलाई कार्यकक्षमै पुगेर पक्राउ गरेको थियो । परसपुरका एक सेवाग्राहीबाट वनसम्बन्धी मुद्दा मिलाई दिने भन्दै ४० हजार घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रमुख कुँवरले जानकारी दिए ।
असार २३ गते जिल्ला नापी कार्यालयका अमिन मनेलाल यादवलाई अख्तियारको टोलीले सेवाग्राहीबाट २४ हजार घुस लिने क्रममा पक्राउ गरेको थियो ।
असार १४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा छापा मारेर १ लाख रुपैयाँ नगद घुस सहित ठाडो उजुरी फाँटका नायब सुब्बा इद्रिसअली बेहनालाई रंगेहात पक्राउ गरेको थियो । वेहनालाई बेलुका ५ बजे पक्राउ गरिएको थियो ।
त्यस्तै अख्तियारले नापी कार्यालयका सर्वेक्षक देवेन्द्र प्रसाद कुम्हारलाई कित्ताकाट गर्ने सिलसिलामा सेवाग्राहीबाट १० बजार घुस लिँदालिँदै पक्राउ गरेको थियो ।
प्रहरी उपरीक्षक कुवरका अनुसार ६ महिनाको अवधिमा अख्तियारको सम्पर्क कार्यालय कोहलपुरको टोलीले बाँके र बर्दिया गरेर १० जनालाई पक्राउ गरि मुद्दा चलाइसकेको छ ।
बाँकेमा ८ र बर्दियामा २ वटा मुद्दा चलाइएको छ । कार्यालयमा अख्तियारले छापा मार्न थालेपछि कर्मचारीले घर वा क्वाटरमा बोलाएर घुस लिन थालेको सेवाग्राहीहरुले बताएका छन् ।















प्रतिक्रिया