४ कार्तिक २०८३, बुधबार

सुशील कोइराला समूहले महधिवेशन सार्न यस्तो रणनीति गर्दैछ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, १५ साउन । शीर्ष नेताहरू संविधान निर्माणमा व्यस्त भएकाले कांग्रेस महाधिवेशन तयारी सुस्त भएको छ ।

संविधान निर्माणको कार्यतालिकाका कारण कांग्रेसको गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन फेरि सर्ने भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

संविधान निर्माण नै कांग्रेसको प्राथमिकता रहेकाले पार्टीको तल्लो तहका अधिवेशन केही दिन सर्ने संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले बताए ।

‘३२ साउनसम्म संविधान निर्माणको व्यस्त कार्यतालिका छ । क्रियाशील सदस्यताको विषय पनि टुंगिसकेको छैन,’ ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘त्यसैले १ भदौमा हाम्रा सभासद् गाउँ र नगरमा जान सक्दैनन् । तल्लो तहको अधिवेशन कार्यतालिका परिवर्तन हुन्छ ।’

कार्यतालिका परिवर्तनबारे केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने ढुंगानाले जानकारी दिए । तर, १५ भदौसम्म गाउँ, नगर क्षेत्रको अधिवेशन सकाउने गरी कार्यतालिका बनाइने उनको भनाइ छ । ‘महाधिवेशन प्रतिनिधि पनि क्षेत्रबाट आउने भएपछि महाधिवेशन हुने आधार पनि क्षेत्रको अधिवेशन हो । त्यसैले १५ भदौसम्म सकाउने गरी तालिका परिवर्तन गर्नुपर्छ भन्ने छ ।’

कांग्रेसले २५ असारमा तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको थियो । पछिल्लो निर्णयअनुसार गाउँ, नगरको १ भदौमा, दुई सय ४० क्षेत्रको ७ भदौमा र जिल्लाको १० भदौमा अधिवेशन तय भएको थियो ।

त्यसअघि गाउँ र नगरको १४ साउनमा, दुई सय ४० क्षेत्रमा २२ साउनमा र जिल्लाको अधिवेशन २६ साउनमा गर्ने कार्यतालिका थियो । कांग्रेसले सुरुमा पार्टीको १३औँ महाधिवेशन २४ देखि २८ भदौका लागि तय गरेको थियो ।

तर, भूकम्प, बाढीपहिरो र संविधान निर्माणको कारण देखाउँदै कांग्रेसले २ देखि ५ असोजसम्म महाधिवेशन गर्ने गरी नयाँ मिति तोकेको छ ।

पछिल्लो पटक तोकिएको मितिमा नै महाधिवेशन हुने ढुंगानाले बताए । कांग्रेस सभासद् रामहरि खतिवडाले संविधानसभाको व्यस्त कार्यतालिकाअनुसार पार्टीको अधिवेशनमा जान नसकिने भएकाले सर्न सक्ने बताए ।

उनले भने, ‘३२ साउनमा संविधान जारी गर्ने भनिएको छ । त्यसअघि सबै नेता संविधान निर्माण प्रक्रियामा सहभागी हुनुपर्नेछ । भोलिपल्टै सबै गाउँतिर केन्द्रीय प्रतिनिधि जान सम्भव छैन । सबैतिर हेलिकोप्टरमा जाने कुरा पनि भएन ।’

खतिवडाले क्रियाशील सदस्यता विवाद नटुंगिएकाले पनि अधिवेशनको कार्यतालिका सर्ने बताए । ‘क्रियाशील सदस्यताको विषय टुंगो लगाउन अझै एक साताभन्दा बढी लाग्छ,’ उनले भने, ‘त्यसैले केन्द्रीय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने गरी गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशन सर्छ भन्ने छ ।’

कांग्रेसले १३औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्यबाट करिब ६ लाख पुर्‍याउने लक्ष्य लिएको छ ।

जसअनुसार क्रियाशील सदस्यता वितरण गरे पनि विभिन्न जिल्लामा विवाद छ । क्रियाशील सदस्यतामाथिको उजुरीमा छानबिन भइरहेको छ ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले क्रियाशील सदस्यता विवाद २२ साउनसम्म टुंगिने र अन्तिम सदस्यता विवरणमा छलफल हुने बताए । त्यसपछि मात्र क्रियाशीलको अन्तिम नामावली गाउँ, नगर, क्षेत्र र जिल्लामा पुग्ने उनको भनाइ छ ।