३० आश्विन २०८३, शुक्रबार

भारतका पूर्व राष्ट्रपति कलामको अन्त्येष्टि, अन्तिम श्रद्धाञ्जली दिन को-को पुगे रामेश्वर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr abdul kalam azadरामेश्वरम (भारत), १४ साउन । भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको बिहीबार अन्त्येष्टि गरिएको छ । उहाँको गृहनगर भारतको दक्षिणी राज्य तामिल नाडुको रामेश्वरममा उहाँको अन्त्येष्टि गरिएको समाचारमा जनाइएको छ ।

उहाँको गत सोमबार मेघालयमा निधन भएको थियो । पारिवारिक परम्परापछि उहाँको पार्थिव शरीरलाई त्यहाँ पु¥याइएको थियो । जनताका राष्ट्रपति उपनाम पाउनुभएका उहाँले भारतमा निकै ठूलो लोकप्रियता पनि हासिल गर्नुभएको थियो ।

उहाँको अन्तिम बिदाईका लागि हजारौँ नागरिक त्यहाँ उपस्थित भएका थिए । उनीहरुले उहाँको विदाईबाट आफूहरु निकै नै भावुक भएको बताएका थिए । हजारौँ नागरिकले जनताको राष्ट्रपतिको जय होस् भनी सम्मान व्यक्त गरेका थिए । उनीहरुले भारत माताको जयजयकार पनि गरेका थिए ।

उहाँको सम्मानमा सैनिक सलामी दिइएको थियो । सैनिक सलामीका क्रममा भारतका उच्चपदस्थ नेता, सरकारी उच्च अधिकारीको उपस्थिति थियो ।

उहाँको अन्त्येष्टिका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति थियो । प्रधानमन्त्रीले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि पूर्व राष्ट्रपति कलामका ९९ वर्षीय दाजुको साथमा पुग्नुभयो । उहाँले त्यहाँ उपस्थित कलामका सबैजना परिवारलाई समवेदना पनि व्यक्त गर्नुभएको थियो ।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न भारतीय काँग्रेसका उपाध्यक्ष राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो । साथै काँग्रेसका अन्य उच्च नेताहरु पनि त्यहाँ थिए । मुटुसम्बन्धी समस्याका कारण कलामको जुलाई २७ मा निधन भएको थियो । उहाँ भारतको एक सुप्रसिद्ध वैज्ञानिक पनि हुनुहुन्थ्यो । रासस/पिटीआई