८ कार्तिक २०८३, आइतबार

पोखरा-बागलुङ सडक साँझसम्म खुल्ने, बेनी-मालढुङ्गा सडकमा वैकल्पिक ट्र्याक खोलियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-nabalparasi (4)फलेवास (पर्वत), १४ साउन । गएराति परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ राजमार्ग अवरुद्ध बनेको छ ।

वर्षाका कारण भूकम्पले चर्किएको पर्वतको तिलाहार गाविसस्थित मौरीभिर तथा तिलाहार गाविसकै वडा नं ९ बेतेनी नजिकै पहिरोले सडक बगाउँदा यातायात अवरुद्ध बनेको हो ।

बेतेनीमा झन्डै २०० मिटर जति सडकनै बगाएका कारण तत्काल सडक खुलाउन समस्या परेको छ । सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय बागलुङको डोजर परिचालन गरिएको छ ।

केही सडक पूर्णरुपमा भत्किएको र केही ठाउँमा ठूलाठूला ढुङ्गा आएर बसेकाले आज साँझसम्ममा सञ्चालन हुने सम्भावना देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सहस्रधारा, भ्याप्लेखोला र मालढुङ्गामा भने पहिरो पन्छाएर सडक सुचारु गरिएको छ । त्यसैगरी, बेनी—मालढुङ्गा सडकसमेत अवरुद्ध बनेको छ । सो सडकअन्तर्गत कुश्मा नगरपालिका–१ पाङको भिरबाट पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

उक्त स्थानमा वैकल्पिक मार्ग खोलेर सडक सुचारु गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रमुख विकास तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै, बेनी—मालढुङ्गा सडकअन्तर्गत माझफाँट, केराबारीलगायतका ठाउँको पहिरो भने पन्छाइसकिएको बताइएको छ ।
सडक अवरुद्ध हुँदा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतबाट छुटेका लामो तथा छोटो दूरीका सवारीका साधन डिमुवामा अलपत्र परेका छन् ।

तत्काल खुल्ने सम्भावना नभएको र पैदल मार्गबाट समेत पहिरो पार गर्न नसकेपछि यात्रु अलपत्र परेका हुन् । सुरुमा पैदल हिँड्न सकिने मार्ग बनाएर यात्रुलाई वारपार गराउन पहल भइरहेको पनि प्रहरीले जनाएको छ । वर्षा रोकिएकाले पहिरो पन्छाउन धेरै बेर नलाग्ने पनि बताइएको छ । रासस