
– एकिन्द्र तिमिल्सेना
धनगढी, १४ साउन । स्थान : धनगढी, जलशा होटलको सभाकक्ष । मिति २०७२ साउन १२ गते । सभाकक्षमा सहभागीहरूको बाक्लो उपस्थिति छ । अगाडि बसेका छन्– मान्ठा डराएको जुग पुस्तकका लेखक पत्रकार मोहन मैनाली । र, चर्चा भइरहेको छ– मान्ठा डराएको जुग र वर्तमान परिवेशमा संक्रमणकालीन न्यायको ।
‘पहिले हामी बाघभालुसंग मात्रै डराउथ्यौं, पछि सेना र माओवादीसंग डराउन थाल्यौ’ बाजुराका कांग्रेस नेता पदम बडुवालले युद्धकालमा भएका ज्यादती सम्झिए– ‘आज माओवादीलाई खाना खुवायो, भोलिपल्ट सेनालाई खुवाउनु पर्ने । होटल चलाउनै सकिएन, विस्थापित भएर भैरहवा गएर बसे । बम बिस्फोटमा बहिनी परिन्, चन्दा उठाएर उपचार गरे ।’ यति भनिसकेपछि बडुवालले भने– अब फेरि यस्तो युद्ध देख्न, भोग्न नपरोस् ।

मंगलबार धनगढीमा पत्रकार मोहन मैनालीद्वारा २०५९ सालतिर भएका द्वन्द्वकालीन घटनालाई विषयवस्तु बनाएर लेखिएको पुस्तक मान्ठा डराएको जुग पुस्तकबारे लेखकसंग परिचर्चा भइरहेको थियो र वर्तमान परिवेशमा संक्रमणकालीन न्यायको प्रसंग कोटयाइएको थियो । युद्धकालमा बाजुरा, कालिकोट, संखुवासभा, जुम्ला लगायतका ठाउमा भएका क्रुर घटना तथा अनाहकमा पीडा पाएका नागरिकका बारेमा लेखिएको पुस्तकका बारेमा टिप्पणी गर्दै सहभागीहरूले भने– यस्तो युग फेरि नआवस् ।
सञ्चार प्रतिष्ठान नेपाल र एड–जस नेपालको संयुक्त आयोजना भएको सो कार्यक्रममा विभिन्न क्षेत्रका गरी ५० जनाको सहभागिता रहेको थियो । ‘सुरक्षा निकायको सन्काहा प्रवृति’ र ‘निर्धालाई मारेर अरुलाई तर्साउने’ माओवादी नीतिले धेरै जनताले दुःख पाए’ अर्का बाजुरेली चक्र शाहले थपे । पत्रकार मैनालीको पुस्तक मान्ठा डराएको जुगमा द्वन्द्वकालमा बाजुराको पाण्डुसेन लगायतका क्रुर हत्या विवरण समेटिएकोले धेरैले यिनै विषयमा केन्द्रीत रहेर टिप्पणी गरेका थिए ।

कांग्रेस नेता गोविन्दराज जोशीले त्यसवेलाको अवस्था सम्झिए– ‘हामीलाई हरेक बिहान उठेपछि ए ! आज त बाँचिएछ जस्तो लाग्थ्यो र हरेक दिन मानिस मारिएका खबरले आफ्नो मृत्युको प्रतिक्षा गरे झैं लाग्थ्यो । ‘यो पुस्तक ऐतिहासिक दस्तावेज हो’ नेता जोशीले थपे ।
नेकपा माओवादीका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले पुस्तकमा उल्लेख भएका घटनाले युद्धमा आफू र आफ्नो परिवारले भोगेको पीडाको वर्णन गरेको अनुभूति भएको चर्चा गरे । उनले लेखक पत्रकार मैनालीले कसैप्रति पनि पक्षधर नभएर तटस्थ भई लेखेकोमा धन्यवाद दिए ।
नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले लठ्ठीमा झुण्डाइएका मान्छेका टाउका र टाउको बिनाको शरीरको दाहसंस्कार गर्नुपरेको अवस्थाको स्मरण गर्दै भने– सत्तामा पुग्न र सत्ता टिकाउन गरिने यस्ता कर्म अब बन्द हुनु पर्दछ । एकीकृत माओवादीका गोविन्द विसीले युद्ध तत्कालिन राज्य प्रवृति विरुद्धको वाध्यता भएको टिप्पणी गरे ।

नेपाल बारका केन्द्रीय उपाध्यक्ष राजेन्द्र साउदले मौनताको संस्कृति भएको नेपालमा बन्दूकमात्र बोल्ने बेलामा बोल्न नचाहने पीडितलाई बोलाउन सक्नु लेखकको लेखकीय कौशल भएको बताए । ‘यो एक युगीन दस्तावेज हो’उनले भने– पीडितलाई सन्तुष्टि दिनु पनि एक प्कारको न्याय हो । कैलाली बहुमुखी क्याम्पसका प्रमुख सुरेन्द्र चन्दले नया पिढीले यस पुस्तकलाई पढन पाए युद्धतिर आकर्षित नहुने बताए ।
लेखक मैनाली पीडितका कुरा सुन्नु पनि पीडितका लागि उपचार भएको चर्चा गरे । उनले भने– मैले जसका बारेमा लेखे, तिनीहरू सपनामा आउन थाले । मरेका मानिस सपनामा आउन थालेपछि लेख्ने काम केही दिन रोके, अरु पनि समस्या आइलागे र प्रकाशकले तोकेको अन्तिम समयावधिभन्दा नौ वर्षपछि मात्र पुस्तक पुरा गरे । उनले फेरि यस्ता लडाइ लड्न नपरे र युद्धमा गरेको अपराध माफी हुदैन भन्नेमा सबै सजग हुनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार उमीद बागचन्द, इन्सेक क्षेत्रीय संयोजक खगडराज जोशी, नेपाली कांग्रेसका केशव मिश्र, धनपति ढुंगेल, गोमा आचार्य, डिल्लीराज जोशी, एकिन्द्र तिमिल्सिना, डबल बम, गोपाल आचार्य, सावित्रा घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकारद्वय घनबहादुर शाह र मनमोहन स्वारले पुस्तकबारे टिप्पणी गरेका थिए । एड–जस, नेपालका अध्यक्ष चित्रा पनेरुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष प्रकाशबिक्रम शाहले गरेका थिए । कार्यक्रममा एड–जसका कार्यक्रम संयोजक दिपेन्द्र सिंहले कार्यक्रमबारे चर्चा गरेका थिए ।















प्रतिक्रिया