काठमाडौं, १४ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्टकल्याण्डविरुद्धको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ ।
बुधबार मध्यरातिसम्म स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा सम्पन्न पहिलो खेलमा टस हारेर व्याटिङको निम्तो पाएको स्कटल्याण्डले ७ विकेटको क्षतिमा २३५ रन बनायो ।
वर्षका कारण ५० ओभरबाट ३६ ओभरमा झारिएको खेलमा २३६ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको नेपालले ५ विकट गुमाएर २३२ रन मात्र बनाउन सक्यो ।
स्टकल्याण्डले दिएको लक्ष्य भेट्टाउन नसकेपछि नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको हो । नेपालका लागि ओपनर अनिल मण्डलले सर्वाधिक ९७ रन बनाए । त्यस्तै, कप्तान पारस खड्काले ७७ रन बनाए । महेश क्षेत्रीले २१, ज्ञानेन्द्र मल्लले १८ र सोमपाल कामीले ११ रन जोडे ।
यसअघि स्कटल्याण्डका लागि कप्तान प्रेष्टन मोमसेनले सर्वाधिक ७८ रन बनाए । यस्तै कोन्डे लेङ्गेले नटआउट ५५ र काइले कोत्जेरले ४१ रन बनाए । म्याथ्यु क्रस २० र जर्ज मुन्सी १९ रनमा आउट भए ।
नेपालका लागि बसन्त रेग्मी र पारस खड्काले २-२ तथा करण केसी र सोमपाल कामीले १-१ विकेट लिए ।
यसअघि एक दिवसीय क्रिकेटमा नेपाल र स्कटल्यान्ड एक पटक आमनेसामने भएका थिए । यसको नतिजा स्कटल्यान्डको पक्षमा गएको थियो । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा नेपाल उक्त प्रतियोगिताको लागि छानिएको हो ।
आठ देश सहभागी उक्त च्याम्पियनसीप सन् २०१९ को इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकप लागि छनोटको आधार पनि हो । यसबाटै छ टोली दोस्रो चरणमा पुग्नेछन् ।
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री (विकेट किपर), अनिल मण्डल, शरद भेषावकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् ।















प्रतिक्रिया