२६ असार २०८३, शुक्रबार

देशको शान्ति, सुशासन र राष्ट्रिय हितका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ : केपी शर्मा ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘नेशनल भोलेन्टियर फोर्स’ संगठन कसैविरुद्ध नभई अराजकता, हिंसा र आतंकका विरुद्धमा रहेको बताएका छन् । आज फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको शान्ति, सुशासन र राष्ट्रिय हितका लागि फोर्स गठन गरिएको बताएका हुन् ।

ओलीले पछिल्लो समय देशमा शान्ति–सुरक्षा कमजोर भएको, राज्य संयन्त्रले मात्र जनताको सुरक्षा गर्न नसकेको परिस्थितिलाई औँल्याउँदै युवा स्वयंसेवकहरू अनुशासित ढंगले काम गर्ने बताए। प्राकृतिक विपत्तिदेखि सार्वजनिक संरचना सुरक्षासम्म स्वयंसेवक सक्रिय रहने उनले स्पष्ट पारे।

प्रधानमन्त्रीको पछिल्लो वक्तव्यप्रति टिप्पणी गर्दै ओलीले “अझ ठूलो विद्रोह हुन्छ” भन्ने चेतावनी लोकतान्त्रिक अभ्यास विपरीत रहेको आरोप लगाए। उनले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना नै समाधानको पहिलो कदम भएको दाबी गरे।

आगामी मंसिर २७–२९ मा हुने एमालेको महाधिवेशन भव्यतापूर्वक सम्पन्न हुने बताउँदै ओलीले महाधिवेशन भाँड्ने कुनै प्रयास अस्वीकार्य हुने चेतावनी पनि दिए। विभिन्न दलीय विभाजनका बीच एमालेमा फर्किएका कार्यकर्तालाई स्वागत गर्दै उनले “एमाले देश निर्माणको मुख्य शक्ति हो” भने।

ओलीले सबै राजनीतिक दल, नागरिक समाज र मिडियालाई लोकतन्त्र, शान्ति–सुव्यवस्था र संविधान रक्षा गर्न संयुक्त रूपमा अघि बढ्न आग्रह गरे।