३० आश्विन २०८३, शुक्रबार

कोरियाद्वारा सोह्र करोडका भारी उपकरण हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flag-Pins-Nepal-South-Koreaकाठमाडौँ, १३ साउन । गणतन्त्र कोरियाले भूकम्पले भत्काएका भग्नावशेष हटाउन तथा निर्माणमा उपयोग हुने भारी रु १६ करोड बराबरका २४ वटा भारी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत चो यङ जिनले गृह सचिव सूर्यप्रसाद सिलवाललाई ती उपकरण हस्तान्तरण गर्नुभएको हो ।
सोही कार्यक्रममा उक्त मुलुकको विश्व प्रख्यात निर्माण उपकरण उत्पादक कम्पनी दुसान इन्फ्राकोरका वरिष्ठ उपाध्यक्ष जे जङ जिनले थप तीन वटा भारी उपकरण सचिव सिलवाललाई प्रदान गर्नुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव सिलवालले भूकम्पपीडितको सहयोगका लागि कोरियाबाट उपलब्ध सहायताप्रति आभार व्यक्त गर्दै नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापना भएयता उक्त मुलुकबाट नेपालको सामाजिक–आर्थिक विकासमा प्राप्त सहयोगको सराहना गर्नुभयो ।

उहाँले आपत्कालीन उद्धार तथा खोज केन्द्र गठनको तयारीमा सरकार रहेको जानकारी दिँदै सचिव सिलवालले त्यसमा पनि कोरियाली सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत चोले भूकम्पपछि आफ्नो मुलुकले राहत, खोज, उद्धार तथा सहयोगका विविध कार्यक्रम सञ्चालन गरेको र त्यसमा करिब रु १५ करोड बराबरको सहायता उपलब्ध गराइएको जानकारी दिँदै आफ्नो देशको सरकारले नेपालको पुनःनिर्माण, पुनःस्थापना, पुनर्वास तथा नवनिर्माणका लागि रु एक अर्ब प्रदान गर्ने घोषणा गरिसकेको बताउनुभयो । रासस